
काठमाडौं । निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ।
पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सुदूरपश्चिमका ६ वटामध्ये चार पहाडी छन्। उक्त प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, अछाम र डोटीमा ५ सयभन्दा बढी संक्रमित उपचारार्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा उदयपुर, संखुवासभा, ओखलढुंगा, पाँचथर र खोटाङमा संक्रमितहरू बढेका छन्। मन्त्रालयका अनुसार यी जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररार्थ छन्। घना जनसंख्या रहेका मोरङ, सुनसरी र झापामा भने ५ सयभन्दा बढी छन्।
त्यस्तै बागमती प्रदेशका सबैजसो जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। तिनमा मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर छन्। रसुवामा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ र बाग्लुङमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। बाग्लुङमा संक्रमण उच्च देखिएको छ। यहाँ पछिल्लो चौबीस घण्टामा २ सय २५ जना नयाँ संक्रमित पुष्टि भएका छन्। लमजुङ, स्याङ्जा, पर्वत र म्याग्दी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी छ। त्यस्तै म्याग्दीमा ७० जना संक्रमित थपिएका छन्।
लुम्बिनी प्रदेशको हट स्पट मानिएको बाँके जिल्लामा पछिल्लो चौबीस घण्टामा एक जना नयाँ संक्रमित थपिएका छन्। पहाडी जिल्ला गुल्मीमा भने १४ जना नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ। यहाँ पाल्पा र रोल्पामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमितहरू छन्। गुल्मी र अर्घाखाँचीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
प्रदेश २ मा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ६ वटा छन्। तिनमा धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी र सिराहा हुन्। रौतहट र सर्लाहीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै सल्यान, रुकुम पश्चिम र जुम्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा रुकुम पश्चिम र जुम्लामा गरी १७ जना संक्रमित थपिएका छन्।
प्रदेश १ का तराईका जिल्लामा भने संक्रमण अधिक देखिन्छ। मोरङ, सुनसरी र झापामा दैनिक संक्रमितको संख्या एक सय नाघेको छ। प्रदेश २ को संक्रमण दर घटेको पाइएको छ। यस प्रदेशमा संक्रमितको संख्या ह्वात्तै घट्दै गएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार, तराईका केही जिल्लामा संक्रमण ओरालो लागे पनि पहाडी जिल्लामा संक्रमण कायमै छ। उनले भने, ‘निषेधाज्ञा गरेका कारण पनि कोरोना संक्रमण दर घट्दै गएको छ। संक्रमणको जोखिम घटिसकेको छैन।’ कोभिडको दोस्रो लहर आएपछि जेठको पहिलो साता पीसीआर परीक्षणमा ५२ प्रतिशतसम्म पोजिटिभ देखिएको थियो। तर, असारमा औसत संक्रमण दर २० देखि २५ प्रतिशतको बीचमा पाइएको छ।
प्रतिक्रिया दिनुहोस