aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'हामी सुजुकीको नेपाललाई सुहाउँदो विद्युतीय सवारी भित्राउँदै छौँ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
'हामी सुजुकीको नेपाललाई सुहाउँदो विद्युतीय सवारी भित्राउँदै छौँ'

सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनको प्रवर्धनलाई जोड दिँदै विभिन्न प्रकारका करमा भारी छुट दिँदा अहिले अटोमोबाइल्स क्षेत्र निकै नै उत्साहित बनेको छ। हाल जारी लकडाउनका कारण व्यापार गर्न नपाए पनि गाडी व्यापारीहरू निषेधाज्ञा हट्ने बित्तिकै आक्रामक व्यापारमा उत्रने तयारीमा छन्। यही पृष्ठभूमिमा आर्थिकन्यूज डटकमले मारुती सुजकीको नेपालको आधिकारिक बिक्रेता सिजी होल्डिंगका कार्यकारी निर्देशक करण चौधरीसँग सो कम्पनीको भावी योजना देखी नेपालमा विद्युतीय सवारी साधनको सहज उपभोगका लागि विद्यमान चुनौतीबारे प्रश्न सोधेको थियो।  प्रस्तुत छ, चौधरीले फर्काएका जवाफको सम्पादित अंश :  

बजेटमार्फत विद्युतीय सवारी साधनमा अन्तःशुल्क हटाए पनि आयात बढेको छैन कारण लकडाउन मात्रै हो वा अन्य मिलाउन पर्ने कामले गर्दा हो ?

हाल लकडाउनको बेला विद्युतीय कारको आयात सम्भव छैन। जब लकडाउन हट्छ त्यसपछि ग्राहकको झुकाव र चासो कस्तो देखिन्छ त्यसको आधारमा हामी पनि के कस्ता गाडी कति मात्रामा आयात गर्ने भन्ने बारे निर्णय लिन्छौँ।   

सरकारले करका दरमा दिएको सहुलियतले बजारलाई कस्तो प्रभाव पार्छ ?

सरकारले करका दरमा छुट दिने बारे गरेको निर्णयले विद्युतीय सवारी साधनको बजारमा सकारात्मक प्रभाव पारेको छ। हामी पनि यसबाट उत्साहित छौँ। यो व्यवस्थाले ग्राहकलाई पनि अब विद्युतीय सवारी रोज्न उत्प्रेरित गर्ने देखिएको छ।

अर्डर आउने क्रम सुरु भएको छ वा सोधपुछ मात्रै छ ?

हालको अवस्थामा नेपालमा सुजुकीसँग विद्युतीय सवारी साधन छैन। तर, हामी हाम्रो डिजिटल प्लेटफर्ममा निकै सकारात्मक र उत्साहप्रद चासोहरू देखिरहेका छौँ। ग्राहकको यो चासोले हामीलाई समेत उत्साहित बनाएको छ। 

नेपालमा कुन मोडलका विद्युतीय गाडीहरूको माग बढ्ने प्रक्षेपण गरिएको छ ?

अहिले विद्युतीय सवारी साधनमा धेरै छनौटहरू छैनन्। तर, सरकारले बजेट मार्फत गरेको निर्णयले नेपाली बजारमा समेत विद्युतीय सवारी साधनका विभिन्न तह, श्रेणी र प्रकारहरू भित्रिने ढोका खोलिदिएको छ। 

विद्युतीय सवारी साधनको भविष्य देखेका छौँ तर, अब आउन सक्ने मुख्य चुनौती के के देख्नुभएको छ ?

अहिले केही समस्याहरू छन्। सबैभन्दा प्रमुख चाहिँ विद्युतीय सवारी साधनलाई आवश्यक पर्ने पूर्वाधार नै हो। चार्जिङ्ग स्टेसन यस्तो पूर्वाधारको सूचीमा सबैभन्दा माथि पर्छ। अर्को समस्या भनेको यस्ता सवारी साधनमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीको व्यवस्थापनको हो। त्यसबाहेक यस्ता सवारी साधनको मर्मत, सम्भारको लागि आवश्यक दक्ष र प्रशिक्षित जनशक्तिको अभाव हो। 

नेपालमै गाडी एसेम्बल गर्ने विषयमा तपाईँहरूको तयारी कहाँ पुग्यो ?

हामीले यसबारेको सम्भाव्यता अध्ययन र विश्लेषण पुरा गर्‍यौँ। अहिले हामी सुजुकीसँग नेपालमा कसरी अगाडी बढ्ने भन्दै संयुक्त लगानी र सहकार्य बारे छलफल गरिरहेका छौँ। 

कोभिड १९ ले अटोमोबाइल्स क्षेत्रको कुन पाटोमा असर कति र कसरी पुग्यो ?

कोभिडले अटो उद्योगका सबै क्षेत्रमा नराम्ररी असर गर्‍यो। अटोमोबाइल्स उद्योगले आफ्नो सञ्चालन विधिलाई पुरै परिवर्तन गर्नुपर्ने अवस्थामा कोरोना महामारीले पुर्‍यायो। यसको सञ्चालनमा स्वास्थ्य सुरक्षा र स्वच्छता समेत एक महत्त्वपूर्ण पाटो बन्यो। लकडाउनको कारण व्यापार ठप्प हुँदा अटो उद्योगले समेत आर्थिक रूपमा अत्यधिक ठुलो नोक्सानी ब्योहर्नु पर्‍यो। 

यसमा परेको अर्को आर्थिक क्षति भनेको आउँदै गरेका गाडीहरू बाटोमा नै अड्किदा र यहाँ गोदाममा थन्किदा भएको नोक्सानी हो। यस्ता केही उदाहरण दिने हो भने मूल्यमा भएको पुँजीबृदी, रकम व्यवस्थापनमा भएको खर्च आदि पर्दछन्। .

राज्यको नीति स्थिर नहुँदा समग्र व्यापारमा कस्तो असर पर्छ ?

हो, यसले व्यापारमा दीर्घकालीन असर पर्छ। पहिलो, नीतिमा भएको अस्थिरताले व्यापारमा हुने जोखिमको मूल्याङ्कनलाई नै प्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्छ। यसको फलस्वरूप लगानी र व्यापार विविधीकरण प्रभावित हुन्छ। यसको अर्को पाटो भनेको उपभोक्ताहरू निर्धक्क भएर नयाँ कुरालाई स्वकार गर्न सक्दैनन् जसले गर्दा मागमा कमी आउँछ। 

मारुती सुजकीका विद्युतीय सवारी साधन कस्ता मोडल र कस्तो प्रकारका छन् ?

हाल हामीसँग नेपालमा मारुती सुजुकिका कुनै पनि विद्युतीय सवारी छैनन्। तर, हामी सुजुकिले विश्वव्यापी रूपमा उत्पादन गरेका सबै विद्युतीय सवारीलाई हेरिरहेका छौँ र नेपालको लागि कुनचाहिँ उपयुक्त हुन्छ भन्ने अध्ययन गर्दैछौँ। थपरुपमा भारतमा पनि सुजुकि इन्डियाले विद्युतीय सवारीका केही मोडेलहरु भित्राउने तयारी गरिरहेको छ। हामी त्यसलाई पनि नजिकबाट हेर्दैछौँ। 

अन्य ब्रान्डभन्दा मारुती सुजकी किन फरक हुन्छ ?

सुजकी जापनिज गुणस्तरका कारण आफ्नो अलग्गै छवि बनाएको ब्रान्ड हो। यो ब्रान्डले आफ्नो टिकाउपन, मर्मतमा हुने सहजता र कम सञ्चालन खर्चका कारण छुट्टै पहिचान बनाएको छ। यस बाहेक सुजुकीले आफ्नो बिक्रीलाई बनाएको व्यापकता, सर्विस सेन्टरको उपलब्धता र  सस्तो देखी महँगो सबै प्रकारका कार निर्माण गरेर हरेक खालका ग्राहकको लागि गाडीहरू निर्माण गरेका कारण पनि यो अरूभन्दा फरक छ। 

प्रतिक्रिया दिनुहोस