
काठमाडौं । नेपालीको उत्पादकत्व घट्दो रहेको देखिएको छ । ‘सेन्सस एन्ड इकोनोमिक इन्फरमेसन सेन्टर’ले नेपालको श्रम उत्पादकत्व वृद्धिदर घट्दै गएको देखाएको हो । सेन्टरको विगत केही वर्षको तथ्यांक हेर्दा श्रम उत्पादकत्वमा निकै ठूलो उतारचढाव देखिएको छ । केन्द्रमा उपलब्ध सन् २०१९ सम्मको तथ्यांकमा सन् २०१४ मा सबैभन्दा बढी अर्थात् ५.५३ प्रतिशतले श्रम उत्पादकत्व वृद्धि भएकोमा सन् २०१६ सम्म आइपुग्दा इतिहासकै सबैभन्दा कम अर्थात् २.१४ प्रतिशतले नकारात्मक देखिएको छ ।
त्यस्तै सन् २०१७ मा पुनः श्रम उत्पादकत्व ५.०४ प्रतिशतले वृद्धि भएकोमा सन् २०१८ मा पुनः ३।३३ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै सन् २०१९ मा ३.५६ प्रतिशतले बढेको छ । तर पछिल्ला दुई वर्ष अर्थात् सन् २०२० र २०२१ का हालका केहि महिना कोरोना भाइरसका कारण बन्दाबन्दीमा परेपछि स्वतः उत्पादकत्व नकारात्मक हुने कुरामा कुनै शंका छैन ।
सेन्टरले विश्व बैंकले प्रदान गरेको प्रति श्रमिक कुल गार्हस्थ्य उत्पादनको आधारमा तथ्यांक निकालेको बताएको छ । सन् २०२० को अन्त्यसम्ममा ७७ प्रतिशतले श्रम सहभागिता ९लेबर फोर्स पार्टिसिपेसन० घटेको पनि सेन्टरले जनाएको छ । कोरोनाका कारण सरकारद्वारा जारी बन्दाबन्दीले श्रमिकको सहभागिता घटेको हुनसक्ने अर्थविद्को भनाइ छ । जसका कारण यसले झनै उत्पादकत्व नकारात्मक बनाउने देखिएको छ । उत्पादकत्व घट्दा समग्र देशको अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसमा ध्यान दिनुपर्ने अर्थविद्हरु बताउँछन् ।
श्रमिकहरुको सिप, तालिम तथा प्रविधिमा पहुँचको अभावले यस्तो समस्या बल्झिँदै गएको अर्थविद् केशव आचार्य बताउँछन् । ‘श्रमिकको सिप छैन । न सरकारले तालिम दिन्छ न लगानीकर्ताले नै, अनि कसरी उत्पादकत्व बढ्छ रु’ उनी भन्छन् । साथै प्रविधिले पनि उत्पादकत्वमा प्रभाव पार्ने उनको तर्क छ । समय अनुसार प्रविधिलाई आत्मसात् गर्न नसक्दा समस्या देखिएको उनी बताउँछन् । ‘हातले लेख्ने कर्मचारी भन्दा कम्प्युटरले टाइप गर्नेको उत्पादकत्व बढीढ हुन्छ,’ उनी भन्छन्, ‘नयाँ नयाँ प्रविधिहरु श्रमिकलाई दियो भने उसको उत्पादकत्व बढ्छ, अन्यथा बढ्दैन ।’
त्यस्तै श्रमिकको जीवनस्तरले पनि उत्पादकत्वमा प्रभाव पार्ने उनको तर्क छ । ‘भोको पेट घरमा छोराछोरी अँध्यारो मुख लगाएको देख्यो भनेपनि श्रमिकले मन लगाएर काम गर्न सक्दैन,’ उनी भन्छन्, ‘त्यसैले सिप र प्रविधिले त प्रभाव पार्छ नै तर, मनोवैज्ञानिक तथा व्यवहारिक कुराहरुले पनि उत्पादकत्वमा ठूलो असर पार्छ ।’
त्यस्तै अर्का अर्थविद् तथा पूर्वसचिव विमल वाग्ले पनि श्रमिकको उत्पादकत्वलाई एउटा तत्वले मात्र नभएर विभिन्न कुराहरु फरक पार्ने बताउँछन् । यस्ता तत्वहरु मिलेमा मात्र उत्पादकत्व राम्रो हुने उनको तर्क छ ।
‘सर्वप्रथम त श्रमिकको आफ्नो क्षमताको कुरा हुन्छ,’ उनी भन्छन्, ‘श्रमिकसँग त्यो कामको विषयमा कत्तिको ज्ञान छ, यसले पनि उत्पादकत्वमा प्रभाव पार्छ ।’ वाग्लेका अनुसार कतिपय काममा विदेशीको तुलनामा हाम्रो क्षमता निकै कम छ । ‘जस्तै– गार्मेन्टको काममा हाम्रो क्षमता विदेशीहरुको भन्दा निकै नै कम छ,’ उनी भन्छन्, ‘उनीहरुले १ घण्टामा गर्ने कामलाई हामीले ५ घण्टा सम्म लगाउँछौं ।’
तर, सिपले मात्र उत्पादकत्व नबढ्ने उनी बताउँछन् । त्यसका लागि क्षमताको परिचालन गर्न पनि जान्नु पर्ने उनको तर्क छ । ‘मान्छेले सिप जानेको छ । तर, विकास भएको क्षमताको परिचालन राम्रोसँग भएन भने पनि उत्पादकत्व दिँदैन,’ उनी बताउँछन् उनले थपे, ‘काम लगाएको पनि छ, उसँग सिप पनि छ । तर, काम गर्ने वातावरण नै भएन भने पनि उत्पादकत्व आउँदैन ।’
समग्र उत्पादकत्वमा वृद्धि गर्नराज्यको पनि केही उत्तरदायित्व हुने उनको तर्क छ । ‘राज्यले उपयुक्त राष्ट्रिय नीतिहरु बनाउनुपर्छ । त्यसमा न्यूनतम पारिश्रमिकका कुराहरुदेखि लिएर कसरी मानव विकास सूचकांकलाई माथि लैजाने कुराहरुसम्म हुन्छन्,’ उनी भन्छन् । यसका साथै श्रमिकलाई काम गर्ने वातावरण सिर्जना गरेर उत्पादकत्व बढाउन उत्पे्ररित गर्नुपर्ने उनको तर्क छ ।
‘श्रमिकको उत्पादकत्व बढेन भने उत्पादनको लागत बढ्छ,’ उनी भन्छन्, ‘जसले सामानको मूल्य बढ्छ ।’ त्यस्तै १ रुपैयाँ खर्च गरेर ५० पैसाको सामान उत्पादन गरियो भने त्यसले फाइदा नदिँने भन्दै श्रमिकको उत्पादकत्व बढाउन सरकार तथा निजी क्षेत्रले ध्यान दिनुपर्ने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस