aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यि महिलाहरुले आफ्नै ओठ किन सिलाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
यि महिलाहरुले आफ्नै ओठ किन सिलाए ?

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो वर्षको चुनावमा धाँधली भएको भन्दै महिला उम्मेदवारहरुले विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन अगाडि उनीहरुले आफ्नो ओठ सिलाएर विरोध प्रदर्शन गरेका हुन् ।  

अफगानिस्तानका कैयौं प्रान्तका यि महिला उम्मेदवारहरु अघिल्लो वर्षको अक्टोबरमा भएको संसदीय चुनावमा पराजित भएका थिए । एक उम्मेदवार डीवा नयान्जीले मंगलबार आफ्ना पाँच महिला साथीहरुसँगै ओठ सिलाएर प्रदर्शन गरेका हुन् । उनले आफुहरुको मागको कुनै सुनुवाई नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । महिलाहरु पछिल्ला तीन महिनादेखि प्रदर्शन गर्दै आएका छन् । 

उनीहरुले संसदीय चुनावमा महिला उम्मेदवारहरुसित धाँधली भएको तथा पैसा दिएकाहरुले चुनाव जितेर संसदमा पुगेको आरोप लगाएका छन् । नयान्जीले भनिन्, 'हामी अफगानी महिला पछिल्लो तीन महिनादेखि धरनामा बसिरहेका छौं । तर राष्ट्रपतिसँग हामीहरुको माग सुन्न तीन मिनेट पनि समय छैन् ।' नयान्जीले आफुहरुको धर्ना तथा विरोध प्रदर्शन मर्ने बेलासम्म रहने बताईन् ।

धर्नामा बसेकी अर्की महिला उम्मेदवार नजिबा फैन्ज हलमन्दीले आफुहरुको अनुरोधमा एक महिला डाक्टरले ओठ सिलाईदिएको जानकारी दिईन् । उनीहरुमध्ये नौ जनाले भोक हड्ताल सुरु गरेका छन् । उनीहरुले सरकारसँग चुनावमा धाँधली भएको विषयमा एक विशेष कमिटी गठन गर्न माग गर्दै आएका छन् । 

अफगान सरकार तथा निर्वाचन आयोगले भने उनीहरुको मागलाई सिधै अस्वीकार गर्दै आएको छ । चुनाव निष्पक्ष भएको दाबी गर्दै आयोगले कमिटी गठन गर्न अस्वीकार गर्दै आएको हो । विरोध गर्ने महिलाहरु आफ्नो निर्वाचन क्षेत्रबाट पराजित भएको भन्दै आयोगले उक्त मागलाई 'हास्यास्पद' भनेको छ । 

 


 

प्रतिक्रिया दिनुहोस