aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

विपत व्यवस्थापनकै बिजोग, खर्च मात्रै ठुलो

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, ०७ असार २०७८
विपत व्यवस्थापनकै बिजोग, खर्च मात्रै ठुलो

काठमाडौं । कुनै ठाउँमा ठूलो दैवी विपत्ति भयो भने सरकार दाल–चामल र चाउचाउ–बिस्कुट बोकेर पुग्छ। तर, विपत्तिका स्रोत पहिल्याएर निराकरण गर्न कहिल्यै अग्रसर हुँदैन। सरकार धेरै फेरिए। विपत् व्यवस्थापनको यो शैली भने कहिल्यै फेरिएन। विपत्ति पीडितलाई सामान्य राहत बाँड्नु नै यसको परिभाषाजस्तो बनेको छ। 

विपत् व्यवस्थापनसम्बन्धी सरकारका केन्द्रमै आधा दर्जनभन्दा बढी संयन्त्र छन्। तिनीहरूबीच न समन्वय छ, न त सक्रियता। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपत् समन्वय हेर्ने सचिव खगराज बराल स्वयं यसमा दुःखी छन्। ‘समन्वयकै अभाव देखियो। हामीलाई त सूचना उपलब्ध गराउँदैनन्,’ उनले भने, ‘अरूका हकमा कस्तो होला ?’  

नेपालमा प्रत्येक वर्ष बाढी, पहिरो, डुबानले वितण्डा मचाउँछ। सरकारको कमजोर विपत् व्यवस्थापनकै कारण बर्सेनि ठूलो जनधनको क्षति हुन्छ। यो वर्ष पनि मनसुन सुरुवातमै सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा बाढी, पहिरोबाट ठूलो क्षति भइसकेको छ।

विपत् न्यूनीकरणका नाममा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ। यो वर्ष मात्रै सरकारले नदी नियन्त्रण र सिँचाइका लागि भन्दै झण्डै ३२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। मानव वस्तीको सुरक्षा तथा कृषियोग्य भूमिको संरक्षण र जमिन उकास गरी स्थानीय तहमार्फत उत्पादनशील उपयोग गर्न नदी नियन्त्रणका कार्यक्रम सञ्‍चालन गरिने त्यसमा उल्लेख छ। 

प्रधानमन्त्री कार्यालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, सिँचाइ मन्त्रालय, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, वन तथा वातावरण मन्त्रालय, खानी तथा भूर्गभ विभाग, मौसम तथा विज्ञान विभाग हुँदै प्रदेशदेखि स्थानीय तहसम्मै विपत् न्यूनीकरणका नाम अअर्बौँ खर्च हुन्छ।

धेरै तिरबाट खर्च हुने गरेकाले के–कति हुने गरेको छ, सरकारी अधिकारीहरू नै पत्तो पाउँदैनन्। ‘धेरैतिरबाट विपत् न्यूनीकरणमा खर्च हुने भएकाले कति बजेट खर्च हुन्छ भन्ने एकिन गर्न सकिन्न’, गृह मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव गोविन्द रिजालले भने। 

प्रतिक्रिया दिनुहोस