
काठमाडौं । नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घट्ने क्रम गत वैशाखमा पनि जारी रह्यो । जसअनुसार गत वैशाखसम्ममा १४ अर्ब ८ करोड रुपैयाँ एफडीआई मुलुक भित्रिएको छ । अघिल्लो वर्षको दस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी १९.२ प्रतिशतले कम हो ।
२०७७ वैशाखसम्म १७ अर्ब ४२ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । विदेशी लगानीको घट्दो प्रवृत्तिलाई विश्लेषकहरूले कोभिड–१९ को प्रभावसँग जोडेर हेरेका छन् । संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको उनीहरूको विश्लेषण छ ।
कोभिड–१९ को असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंक अनसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अघिल्ला महिनाको तुलनामा अहिले विदेशी लगानी घट्ने दरमा कमी हुँदै आएको छ,’ उनले भने, ‘यसअघि ३७ प्रतिशतसम्मले घटेको लगानी गत वैशाखमा १९ प्रतिशतमा झरेको छ । यसलाई सुधारका रूपमा लिनुपर्छ ।’ कोभिड–१९ महामारीको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने उनले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनले दाबी गरे ।
तर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड–१९ देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोध मुख्य कारण भएको औंल्याए । ‘यो त एकातिर लगानी गर्न आऊ हामी स्वागत गर्छौं भन्ने, अर्कातिर के देखाएर तर्साउने भनेजस्तो भयो,’ उनले भने, ‘विधिगत र संस्थागत विषयमा तालमेल भएन । विभिन्न आकर्षण घोषणा गर्ने तर तिनलाई कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी भयो ।’
लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको छ । ती समस्या समाधान गर्नकै लागि लगानी बोर्ड र उद्योग विभागमा एकद्वार प्रणालीको सुरुवात भयो । ती प्रयासहरू पनि पर्याप्त नभएकाले अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसकेको उनले आरोप लगाए । नीति निर्माता र कर्मचारीतन्त्रबीच तालमेल नभएकै कारण समस्या निम्तिएको उनले ठहर छ ।
प्रतिक्रिया दिनुहोस