aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक, अब के गर्लान निर्णय ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक, अब के गर्लान निर्णय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।  

निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ ६ बजेका लागिका बैठक बोलाइएको छ । केही विशेष निर्णय हुने बुझिएको छ ।’ 

सर्वोच्चको अप्रत्यासित आदेश पछी प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे विभिन्न अड्कलबाजी शुरू भएको छ। कतै उनले राजनीतिक संकटकालको त घोषणा गर्ने होइनन् भन्ने चिन्ता बढेको एक राजनीतिक विश्लेषकले बताए। नाम उल्लेख नगर्न अनुरोध गर्दै उनले भने, " ओलिबाट के निर्णय आउने हो भन्ने अनुमान लगाउन गाह्रो छ। तर, राजनीतिक संकटकालको घोषणा भयो भने पनी अचम्म नमाने हुन्छ।"

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारमा सामेल भएका नयाँ मन्त्रीहरूको पदमुक्त गर्न आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि  विस्तार गरिएको मन्त्रिपरिषद् विस्तारमा २१ जना मन्त्री नियुक्त भएका थिए ।

तीनजना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले शपथ लिएका थिए ।

अब सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहने छन् । 

 

प्रतिक्रिया दिनुहोस