
काठमाडौं । वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी हुनुपर्ने प्रस्तावित व्यवस्था हटेको छ । धितोपत्र बोर्डले तयार पारेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ मा विदेशी लगानी हुनुपर्ने अनिवार्य व्यवस्था थियो ।
निर्देशिकामा रहेको उक्त व्यवस्था सञ्चालक समितिले हटाएको स्रोतले बताएको छ । मस्यौदा सञ्चालक समितिबाट स्वीकृत भएको छ । यही असार १५ देखि निर्देशिका लागू गर्ने तयारी बोर्डले गरेको छ ।
चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी चाहिने प्रस्तावित व्यवस्था हटाएको भन्दा पनि अनिवार्य नगरिएको रूपमा बुझ्नुपर्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।
‘विदेशी लगानी अनिवार्य गर्दा स्वदेशी लगानीकर्ताले गर्न नसक्ने वा विदेशीलाई मात्र प्राथमिकता दिने भन्ने कुरा आयो,’ उनले भने, ‘तर विदेशी साझेदार भएका कम्पनीले लाइसेन्सका लागि प्राथमिकता पाउने निश्चित छ ।’ कम्पनी छनोटका लागि तय गरिने मापदण्डमा विदेशी लगानी भएका कम्पनीलाई प्राथमिकतामा राखिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस