aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तारमा अड्चन, गाँठो फुकाउन मुख्यमन्त्री काठमाडौंमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, ०९ असार २०७८
गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तारमा अड्चन, गाँठो फुकाउन मुख्यमन्त्री काठमाडौंमा

काठमाडौं । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन्। मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल बिनाविभागीयमन्त्री कुमार खड्कालाई साथमा लिएर शीर्ष नेताहरू भेट्न मंगलबार राति काठमाडौं पुगेका हुन्।  

मुख्यमन्त्री पोखरेल काठमाडौं पुग्नुअघि नै कांग्रेसबाट मन्त्रीका आकांक्षीहरू पनि शीर्ष नेताहरू भेट्न त्यहाँ पुगिसकेका थिए। मुख्यमन्त्री पोखरेलले काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेतालाई भेटेर प्रदेश सरकारमा मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ। उनले बुधबार शीर्ष नेताहरूसँग भेट्ने छन्। मुख्यमन्त्री पोखरेल बिहीबार पोखरा फर्किने उनको सचिवालयले जनाएको छ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० बीच गठबन्धन भएको थियो। गठबन्धन बनाउने क्रममा दलको हैसियतअनुसार प्राथमिकताका आधारमा मन्त्रालय रोज्ने भनिएपछि कांग्रेसले अर्थ, माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो।  

कुराकानी गरेपछि कांग्रेसले अर्थ मन्त्रालय हरिशरण आचार्यलाई दिने सहमति गरेको थियो। तर अहिले आएर कांग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरूको कार्यविभाजन रोकिएको छ भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन।  

अर्थ मन्त्रालयमा सरकारको प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काको पनि दाबी छ। तर अर्थ मन्त्रालय जसपालाई दिने लिखित सहमति गरिसकेकाले मुख्यमन्त्री पोखरेलले मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन। उनलाई आफ्नौ निर्णय निल्नु न ओकल्नु भएको छ। उनले अर्थमा माओवादीको पनि दाबी देखाएर जसपालाई फकाउने प्रयास गरिरहेका छन्। तर जसपाले सहमतिअनुसार अर्थ मन्त्रालय नपाए सरकारबाटै बाहिरिने भने पछि मुख्यमन्त्री पोखरेल अप्ठेरोमा परेका हुन्। त्यतिमात्र होइन, कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री पोखरेल थप अप्ठेरोमा परेका छन्। माओवादी केन्द्रले भने अर्थ मन्त्रालयमा कांग्रेस र जसपाबीच लिखित सहमति भएकाले यस विषयमा आफूले विवाद नगर्ने भन्दै आपसी छलफलबाट टुंगोमा पुग्न आग्रह गरेको छ।

मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा परेको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल शीर्ष नेताहरूलाई भेट्न काठमाडौं गएको कांग्रेसका एक सांसदले बताए। मन्त्रिपरिषद् बिस्तार र कार्यविभाजनमा देखिएको समस्या सुल्झाउने प्रयास भइरहेको बिनाविभागीयमन्त्री खड्काले बताए। उनले भने, ‘एउटा दलसँगको विवाद टुंगियो, अब अर्को दल माओवादी केन्द्रसँग पनि सहमतिको प्रयास भइरहेको छ।’ उनले केही दिनभित्रै मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् बिस्तार हुने दाबी गरे। यसैका लागि सहमति जुटाउने प्रयासस्वरुप आफूहरू काठमाडौं गएको उनले बताए।  

प्रतिक्रिया दिनुहोस