
काठमाडौं । निर्बाध रूपमा चल्न दिने भनी सरकारले प्रदान गरेको प्रतीक चिह्न (लोगो) अङ्कित दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई प्रहरीले रोकेको छ । दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीलाई बन्द, हडताल, निषेधाज्ञालगायत आपत्कालीन समयमा पनि निर्बाध चल्न दिने भनी सरकारले केही दिनदेखि सो लोगो वितरण गर्दै आएको छ ।
अहिले गाडीका लागि जोर बिजोर प्रणाली लागू छ तर लोगो अङ्कित दूध ढुवानी गाडीलाई पनि रोकेको डेरी एसोसिएसन नेपालका महासचिव प्रह्लाद दाहालले जानकारी दिए । उनले भने, “सरकारले प्रदान गरेको लोगो लगाएर गाडी चलाउँदा कहीँ रोकटोक हुँदैन भन्यो तर जोर बिजोर प्रणाली लागू भएपछि ठाउँठाउँमा लोगो लगाइएका गाडीलाई पनि रोकिएको छ । ”
यो लोगो लगाइएका गाडीलाई नरोक्नु भन्ने निर्देशन ट्राफिक प्रहरीलाई नआएको सडकमा खटिएका ट्राफिक प्रहरीले बताउने गरेको उनले जानकारी दिए। दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सबै गाडीले अहिले लोगो लिएका छैनन्, लिने क्रममा छन् तर जतिवटाले लिएका छन्, तिनलाई पनि बाटोमा रोकिएको उनले बताए ।
जोर बिजोर प्रणाली अति आवश्यक वस्तुको ढुवानीमा लागू नहुनु पर्ने भए पनि ट्राफिक प्रहरीले जताततै रोकटोक गरेको उनले बताए । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले तल्लो तहका प्रहरीले नबुझेर गाडी रोकिएको जानकारी आएको बताए । यो लोगोबारे सम्बन्धित निकायमा जानकारी गराइसकेको तर तल्लो तहसम्म त्यसको सर्कुलर नभएर त्यस्तो समस्या भएको हुनसक्ने भन्दै त्यसको पनि चाँडै समाधान हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस