
काठमाडौं । कोरोना महामारीले चौतर्फी असर गरिरहँदा वैदेशिक व्यापारमा भने खासै असर गरेन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
उक्त परिमाण सामान्य अवस्थासरह नै हो । गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा ११ खर्ब ८८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जसको तुलनामा चालु आवको ११ महिनाको व्यापार २६।२५ प्रतिशतले बढी हो ।
वैदेशिक व्यापारमा भएको वृद्धिसँगै आयात र निर्यात पनि बढेको छ । गत आवको ११ महिनामा ११ खर्ब ८१ करोड रुपैयाँको आयात भएकोमा चालु आवमा २५.६७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँको आयात भएको तथ्यांक छ । निर्यात व्यापार पनि ३७।७८ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा ८८ अर्ब रुपैयाँको निर्यात भएकोमा यो आँकडा अहिले १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
विभागका अनुसार भटमास तेल (प्रशोधित) ले निर्यात बढाइदिएको हो । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट भटमासको कच्चा तेल आयात गर्छन् । जसलाई प्रशोधन गरेर भारत निर्यात गरिन्छ । यस अवधिमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ ।
सबैभन्दा बढी निर्यात हुने सूचीको दोस्रो नम्बरमा सिन्थेटिक यार्न छ । गत साउनयता जेठसम्म ७ अर्ब १६ करोड रुपैयाँको सिन्थेटिक यार्न विदेश निकासी भएको छ । तेस्रोमा अलैंची छ । गत आवमा ३ अर्ब ४६ करोड रुपैयाँको अलैंची निर्यात भएकोमा चालु आवको ११ महिनामा ६ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । ऊनीको गलैंचा कार्पेटको निर्यात ५ अर्ब ५० करोड रुपैयाँबाट बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तयारी कपडा ४ अर्ब ६३ करोड, फलफूलको जुस ३ अर्ब ८२ करोड, जुटबाट बुनिएका कपडा ३ अर्ब ७९ करोड रुपैयाँको निकासी भएको छ ।
आयातको हकमा पेट्रोलियम पदार्थ नै अगाडि छ । चालु आवको ११ महिनामा ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको छ । गत आवको यही अवधिमा यो आँकडा ७८ अर्ब २१ करोड रुपैयाँ थियो । आयात भएका वस्तुमध्ये दोस्रो नम्बरमा एमएस बिलेट छ । गत आवको तुलनामा झन्डै दोब्बरले यसको आयात भएको देखिन्छ ।
गत साउनयता जेठसम्म ६५ अर्ब ३९ करोड रुपैयाँको एमएस बिलेट भित्रिएको छ । जबकि गत आवको यही अवधिमा यो संख्या ३८ अर्ब २७ करोड रुपैयाँ थियो । भटमासको कच्चा तेल पनि उल्लेख्य रूपमा आयात भएको छ । गत आवको ११ महिनामा १६ अर्ब १६ करोड आयात भएकोमा चालु आवको ११ महिनामा ४५ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस