
काठमाडौं। जारी युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्। यस चरणको पहिलो खेल आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन्। अन्तिम १६ को दोस्रो खेल भने राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रिया हुँदैछ।
समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। वेल्स समूह 'ए' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो।
उता डेनमार्क पनि समूह 'बी' को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको थियो। डेनमार्क समूह चरणको पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्न सफल भयो।
समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो। यस सँगै इटालीले समूह 'ए' को विजेता बन्दै नकआउट चरणको यात्रा तय गरेको हो। यस्तै दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दा अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको थियो।
समूह 'सी' को उपविजेता बन्दै अष्ट्रिया पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको थियो। अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो। अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो।
प्रतिक्रिया दिनुहोस