
काठमाडौं । झन्डै वर्ष दिनयता लगातार उकालो लागिरहेको खाने तेलको मूल्य केही मात्रामा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा आएको गिरावट र आपूर्तिमा सहजतासँगै मूल्य केही घटेको उद्योगीहरूले बताएका छन् । बजार अनुगमन तथा नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा गुणस्तर तथा नापतौल विभागसहितको टोलीले तराईका केही तेल उद्योगमा अनुगमन गरेपछि मूल्य घटेको विभागको दाबी छ ।
वाणिज्य विभाग र उद्योगीको भनाइमा स्वयम् खुद्रा व्यवसायी भने सहमत छैनन् । सर्वसाधारणले पनि घटेको अनुभूति गर्न पाएका छैनन् । ‘अन्तर्राष्ट्रिय बजारमा बढेपछि त्यसको बहानामा मूल्य बढाए । अहिले चौतर्फी विरोध भएपछि केही घटाएको नाटक मञ्चनबाहेक केही होइन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘उद्योगीहरूले घटेको दाबी गरे पनि बजार (खुद्रा) मा घटेको छैन । सर्वसाधारणले घटेको मूल्य अनुभूति गर्न पाएका छैनन् ।’ अनुगमनमा भएको सक्रियताले उद्योगीलाई मूल्य घटाउन बाध्य बनाएको स्वीकारे पनि देखावटी रूपमा मात्रै घटाएको उनको आरोप छ ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले पनि बढेअनुसार मूल्य नघटेको दाबी गरे । ‘३र४ दिनयता करिब ५ रुपैयाँ घटाएको भन्ने सुनेको छु । तर बाहिर आएजस्तो प्रतिलिटर ३०र३५ रुपैयाँ घटेको छैन,’ तुलाधारले भने ।
उद्योगीले मूल्य घटाएपछि वितरक र थोकमार्फत खुद्रामा आउने हो । खुद्रा र उपभोक्ता तहसम्म आइपुग्दा धेरै तह हुँदा सर्वसाधारणले घटेको मूल्य तत्काल अनुभूति गर्न नपाएका उनको भनाइ छ । बजारमा पारदर्शिता नहुँदा समस्या भएको उनले बताए । ‘गत वर्षभन्दा लिटरमै ७०र८० रुपैयाँ बढ्यो । यो मूल्य अचाक्ली नै हो,’ उनले भने, ‘अहिले उद्योगीहरूले मूल्य घटाएजस्तै गरेका मात्रै हुन् ।’ संघकै अनुसार करिब ४ महिनायता लिटरमै ७५ रुपैयाँसम्म मूल्य बढेको थियो । १४५ देखि १६० रुपैयाँ पर्ने एक लिटर सोयाबिनको तेलको मूल्य बढेर २२० देखि २३५ रुपैयाँसम्म पुगेको छ ।
प्रतिलिटर २३५ रुपैयाँ पर्ने सूर्यमुखी ९सनफ्लावर० तेल बढेर ३ सय रुपैयाँसम्म पुगेको छ । तोरीको तेलको हकमा पनि २७५ देखि २९० रुपैयाँसम्ममा बिक्री भएकोमा अहिले ३३० रुपैयाँ पर्छ । उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढ्ने र घट्दा घट्ने बताउँदै आएका छन् । नेपाल वनस्पति घिउ तेल उत्पादक संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चा प्रदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ ।
ती मुलुकमा कच्चा तेलको मूल्य दोब्बर बढेकाले यहाँ पनि बढेको संघको भनाइ थियो । भाडा शुल्क, सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा समेत मूल्य बढेकाले थप असर परेको संघले बताएको थियो । अहिले माग नै नभएको र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेकाले तेलको मूल्य घटाएको उद्योगीहरूले बताएका छन् । ‘अहिले तेलको माग नै छैन, अन्तर्राष्ट्रिय बजारमा पनि घटेको छ,’ नाम उल्लेख गर्न नचाहने एक उद्योगीले भने, ‘मूल्य घटाउने सन्दर्भमा वाणिज्यमा पनि जानकारी गराएका छौं । ब्रान्डअनुसार सबै उद्योगीहरूले मूल्य घटाएका छन् ।’
वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले उद्योगीहरूले मूल्यसूची नपठाए पनि मूल्य घटाउने प्रतिबद्धता जनाएको बताए । ‘उद्योगीहरूसँग भएको छलफलमा ब्रान्डअनुसार सरदर प्रतिलिटर १५ देखि ३५ रुपैयाँ घटाउने सहमति भएको छ । मूल्य थप क्रमिक रूपमा घट्दै जाने बताएका छन्,’ उनले भने, ‘विभागले उद्योगीसँग थप डकुमेन्ट माग गरेको छ, अब मूल्य घट्छ ।’ उद्योगीहरूले मूल्य घटाउने सहमति जनाए पनि सर्वसाधारणले राहत महसुस गर्न करिब हप्ता दिन कुर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार उद्योगीहरूले मूल्य घटेको तेल फ्याक्ट्री बिल काटेर वितरकलाई दिएका छन् । ‘त्यसपश्चात् होलसेल हुँदै खुद्रामा पुग्छ । अब छिट्टै उपभोक्ताले पनि राहत महसुस गर्छन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस