aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

“नेक्सन इभी बजारमा ‘हट केक’ को रूपमा स्थापित हुने सम्भावना छ”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ असार २०७८
“नेक्सन इभी बजारमा ‘हट केक’ को रूपमा स्थापित हुने सम्भावना छ”

राजनबाबु श्रेष्ठ सिप्रदीका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सो कम्पनीले पछिल्लो समयमा सबैले चर्चा गर्ने गरेको विद्युतीय  सवारी  साधनको व्यापारलाई नेपाली बजारमा नयाँ उचाइमा योजनाको साथ काम गरिरहेको छ । सरकारले बजेट मार्फत विद्युतीय  सवारी  साधनको प्रयोगलाई प्रवर्धन गर्ने गरी दिएको अवसरलाई चर्चित गाडी नेक्सन इभीबाट प्रयोगमा ल्याएर यो यात्राको शुभारम्भ गर्ने क्रममा सो कम्पनी सिइओ श्रेष्ठ बताउँछन् ।

उनै राजनबाबुसँग आर्थिक न्युज डटकमले नेपालमा विद्युतीय  सवारी  साधनको प्रयोग बिस्तार गर्न आवश्यक पूर्वाधार विकास देखी अहिले देखिएका चुनौतीसम्मका विषयमा कुरा गरेको छ । प्रस्तुत छ, सो संवादको सम्पादित अंश :

गाडी व्यापारीहरूको मागलाई सम्बोधन गर्दै सरकारले बजेटमार्फत  विद्युतीय  सवारी  साधनको भन्सार शुल्क घटायो,  अन्तःशुल्क  हटायो ।  तर  पनि  आयात  बढेको  छैन ।  कारण के हो ?

यसको खास कारण भनेको हाल कोभिडले गर्दा यस्ता गाडीको उत्पादनमा नै पनि कमि आएको छ ।  त्यो मात्र होइन माग र आपूर्तिको सम्पूर्ण प्रणाली नै बिग्रिएको छ ।  गाडी भनेको जब माग हुने हो त्यस पछि बन्ने हुन् धेरैजसो अवस्थामा ।   त्यस कारण निर्माण सकेर पठाउन पनि स्वाभाविक रूपमा समय लाग्छ ।  त्यसबाहेक मागको लागि आवश्यक कागजातको तयारी पनि बल्ल हुँदै छ ।  हामीले माग गरेपछि पनि कम्तीमा दुई महिना चाहिँ आपूर्तिको लागि कम्पनीले समय लिन्छ ।  

सरकारले करका दरमा दिएको सहुलियतले बजारलाई कस्तो प्रभाव पार्छ ?

सरकारले बजेट मार्फत करका दरमा जसरी सहुलियत दिएको छ त्यसले विद्युतीय सवारीको बजारमा सकारात्मक प्रभाव हुनेमा हामी विश्वस्त छौँ ।  स्वाभाविक रूपमा अब नेपाली बजारमा पनि यस्ता सवारीको माग बढ्छ ।  

अघिल्लै बजेटसँग तुलना गर्ने हो भने त यो बजेटले धेरै नै उत्साह थपेको छ ।  त्यसै पनि विद्युतीय सवारीको सञ्चालन खर्च अन सवारीको भन्दा धेरै नै काम छ।  त्यसमाथि सरकारले दिएको छुटको कारण अब मूल्यमा समेत कमी आउने भएपछि यसका प्रयोग कर्ता अवश्य बढ्छन् । त्यसमाथि ठुलो सङ्ख्यामा चार्जिंग स्टेसन समेत बनाउने कुराले उपभोक्तालाई यस्ता सवारी चलाउँदा पर्न सक्ने समस्याबाट मुक्त पार्ने देखिन्छ ।  

भनेपछि अब विद्युतीय सवारीको लागि आवश्यक पूर्वाधार निर्माणमा समेत सबै क्षेत्र उत्साहित भएर लाग्ने भए, होइन ?

हो, पहिले जब विद्युतीय सवारी नै काम हुँदा त्यस्ता पूर्वाधारमा लगानी गर्न हिचकिचाउनु पर्ने अवस्था थियो ।   तर, अब गाडीको माग नै बढ्ने भएपछि चार्जिंग बनाउने कुरा हुन्छ नै ।    

ग्राहकहरूबाट  टाटाका विद्युतीय गाडीको खरिद अर्डर नै आउने क्रम सुरु भयो वा सोधपुछ मात्रै हुँदै छ ?

सिप्रदीले नेपालमा ल्याएको पहिलो विद्युतीय सवारी नै हो, टाटा नेक्सन इभी ।  भारतमा यो अत्यधिक रुचाइएको गाडी हो ।  त्यहाँको बजारमा रहेको यसको लोकप्रियताको प्रभाव हाम्रो बजारमा पनि स्वाभाविक रूपले पर्छ ।  शायद त्यही भएर होला, जब हामीले यो गाडी भित्राउने कुरा गर्‍यौँ त्यो बेला देखी दैनिक रूपमा यसबारे बुझ्न धेरै वटा फोन कलहरू आउने गरेका छन् ।  टाटाको नेक्सन इभी हाम्रो बजारमा ‘हट केक’ को रूपमा स्थापित हुने सम्भावना देखिएको छ ।  

त्यस्तो चासो यसैमा चाहिँ किन देखिएको होला ?

यसको ब्रान्डले गर्दा हो ।   टाटाको नेक्सन आफैमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।   त्यसमाथि यसको इंभी भर्सन भनेपछि मानिसहरूले सोधिखोजी गर्ने नै भए ।  यसले प्राप्त गरेको ‘फाइभ स्टार ग्लोबल सेफ्टी’ ट्याग पनि यसरी ग्राहकलाई आफूतिर तान्ने बलियो शक्ति बनेको छ ।  तर, हामीले बुकिङ नखोलेको कारण बुकिङ नै भएको भने छैन ।  हामी ग्राहकको रुचि र हतारोलाई ध्यानमा राख्दै चाँडै बुकिङ खुल्ला गर्ने तयारीमा छौँ ।  

नेपालमा कुन प्रकार र मूल्यका विद्युतीय गाडीहरूको माग बढ्ने प्रक्षेपण गरिएको छ ?

मूल्यको आधारमा हेर्ने हो भने हाम्रोमा ३५ देखि ५० लाखको रेन्जका गाडीहरूले बढी बजार ओगडछन् जस्तो लाग्छ।  यस्तो किन हुन्छ जस्तो लाग्छ भने यो रेन्जका गाडीहरूको पर्फर्मेन्स रेन्ज लक्जरी गाडीहरूको भन्दा काम देखिएन । यदि यो मूल्यमा नै लक्जरी गाडीको सुविधा पाइन्छ भने त्यही नै मानिसहरूले लिन्छन् । नेक्सन इभि कै कुरा गर्ने हो भने पेट्रोलको भन्दा केहीमा पनि यो फरक लाग्दैन । अब आउने इभिहरुको डिजाइन पनि पेट्रोल, डिजेलको भन्दा काम हुँदैन ।

विद्युतीय सवारी साधनको भविष्य त देखियो तर, सँगै  आउन सक्ने मुख्य चुनौती के के देख्नुभएको छ ?

चार्जिंग कै कुरा गर्ने हो भने त्यो नै एउटा चुनौती हो । पेट्रोल हाले जस्तो त हुँदैन । यसको लागि नेपाल बिधुत प्राधिकरणको प्रसारण लाइनमा समेत केही अपडेट आवश्यक देखिएको छ । त्यसले उठाउने लोड के हो ? ट्रांस्फरमरको  लोड बहन क्षमता  कति छ त्यो हेर्नुपर्ने हुन्छ ।

प्रमुख चुनौती चाहिँ राजनीतिक नै हो । सरकार स्थिर भए नीतिहरूमा पनि  स्थिरता आउँथ्यो । अहिले ढुक्क हुनसक्ने अवस्था नै छैन । यसो भए व्यापारी देखि ग्राहक सबै निश्चिन्त भएर लगानी गर्ने, खरिद गर्न सक्थे ।

विद्युतीय सवारी साधनको पूर्वाधारमा लगानी नै भएको छैन ग्राहकले कसरी विश्वास गर्छन्  ?

हो, यो गम्भीर कुरा हो । यदि तपाइले हेर्नु भयो भने नेपालमा नै अरू धेरैले गतसालको लकडाउन भन्दा अघि नै इभि भन्न थालेका थिए । हामीले त्यो भनेनौ के थाहा नपाएर हो त ? पक्कै होइन । हामी जबसम्म व्यापारको बलियो आधार देख्दैनौ तबसम्म हात हाल्दैनौ । बजार नबुझी हामी पाइला चाल्दैनौ ।

त्यसैले मा के भन्न सक्छु भने पूर्वाधार बन्नु अपरिहार्य बनेको छ । त्यो बन्छ । त्यस कारण विश्वास गर्न सकिन्छ । यसको व्यापारको लागि आधारभूत भौतिक पूर्वाधार चाहिँ चाहिन्छ । हामीले आफ्ना स्टाफलाई इभीबारे तालिम दिएका छौँ ।

तपाईहरु आफैँ पूर्वाधार विकासमा केही गर्दै हुनुहुन्छ ?

हामीले गरेको अध्ययनमा के देखिएको छ भने रणनीतिक राजमार्गमा प्रत्येक डेढ सय किलोमिटरमा फास्ट चार्जिंग गर्न सकिने स्टेसन चाहिन्छ । त्यसैले हामी आफैँ त्यस्ता डिसी चार्जिंग स्टेसन निर्माणको तयारीमा छौँ । जसबाट छिटो चार्ज गर्न सकिन्छ । त्यसै गरी हाम्रा सर्भिस सेन्टर देशैभरि भएकाले त्यो सुविधा समेत दिन सक्ने अवस्थामा छौँ । ती सेन्टरबाट इभीको सर्भिस पनि प्राप्त हुन्छ ।

नेपालमै गाडी एसेम्बल गर्ने विषयमा तपाईँहरूको तयारी कहाँ पुग्यो ?

यसमा के मात्र भन्न सकिन्छ भने जबसम्म सरकारले हाम्रो यस्तो योजनालाई कार्यान्वयन गर्न मिल्ने नीति बनाउँदैन तबसम्म हामी केही गर्न सक्दैनौ । हामीले  पर्याप्त अध्ययन र अनुसन्धान गर्‍यौँ । अहिले सरकारको साथ पर्खिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस