
काठमाडाैं । संयुक्त राष्ट्र संघ मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान (एपिसी) खरिदमा भ्रष्टाचारी ठहरिएका पूर्वआइजिपी रमेशचन्द ठकुरी जेल चलान भएकाे छ । जेलबाहिरै बस्न पाउँ भन्दै निवेदन लिएर पुगेका पूर्वआइजिपी रमेशचन्द ठकुरी लाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको हाे ।
२०७४ मा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार भएका ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे सर्वोच्च अदालत पुगेका थिए।
नेपाल प्रहरीको संयुक्त राष्ट्र संघ मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान (एपिसी) खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको बेञ्चले उनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।
ठकुरीबाहेक चारै जना कैद सजाय भुक्तान गरेर छुटिसकेका छन्। एपिसी खरिदमा ४४ करोड रुपैयाँ घोटाला भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआइजीपी, पूर्वएआइजी र ठेकेदार मनोज भारतीविरुद्ध मुद्दा दायर गरेको थियो।
सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए। सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
प्रतिक्रिया दिनुहोस