aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

स्वास्थ्य सेवा र साना जलविद्युत्‌लाई ३ प्रतिशत ब्याजमा कर्जा

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, १४ असार २०७८
स्वास्थ्य सेवा र साना जलविद्युत्‌लाई ३ प्रतिशत ब्याजमा कर्जा

काठमाडौं । स्वास्थ्य सेवा, अक्सिजन उत्पादन तथा साना जलविद्युत् आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि परिमार्जन गरी स्वास्थ्य सेवा, अक्सिजन उत्पादन तथा साना जलविद्युत् आयोजनाले पनि विशेष पुनर्कर्जा पाउने व्यवस्था गरेपछि ती क्षेत्रले ३ प्रतिशत ब्याजदरमा सस्तो कर्जा पाउने भएका हुन् ।

‘स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न तथा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनामा प्रदान गरिएको कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ,’ संशोधित पुनर्कर्जा कार्यविधिमा भनिएको छ । यसअघि यी क्षेत्रले विशेष पुनर्कर्जा नपाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले प्रदान गर्ने ग्राहक ऋणअन्तर्गत ती क्षेत्रलाई पुनर्कर्जा प्रदान गरिनेछ । उक्त कर्जा परिपक्क हुने अवधि १ वर्षको हुने प्रावधान छ । ‘लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई र निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई प्रवाह भएको कर्जाको परिपक्क हुने अवधि बढीमा एक वर्ष हुनेछ,’ कार्यविधिमा उल्लेख छ । कोभिड–१९ बाट प्रभावित मध्यम तथा न्यून प्रभावित क्षेत्रका ऋणीलाई प्रभावित पुनर्कर्जाको परिपक्क हुने अवधि ६ महिनाको हुन्छ । 

यस्तै, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्टका लागि प्रतिव्यक्ति कर्जा सीमा पनि ५० करोड रुपैयाँ तोकिएको छ । ‘स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन,’ कार्यविधिमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा प्रदान गर्ने पुनर्कर्जामा प्रतिऋणी बढीमा ५ करोड र राष्ट्र बैंकले प्रदान गर्ने कर्जामा प्रतिऋणी २० करोड रुपैयाँसम्म सीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस