aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

वैदेशिक रोजगारको गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, १६ असार २०७८
वैदेशिक रोजगारको गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

काठमाडौं । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् ।

नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता नेपालबाट कामदार नै लिएका छैनन् । ती देशले नेपाललाई जोखिमको सूचीमा राखी कामदार नलिँदा १६/१७ महीनादेखि नेपालीहरू रोजगारीका लागि ती मुलुक जान पाएका छैनन् ।

साउदी, ओमन, कतारसहितका देशमा समेत कामदार जान सकेका छैनन् । ती देशले शर्त अघि सारेर कामदार लिन इच्छा देखाए पनि त्यस्तो शर्त पूरा गर्न कठिन देखिएको छ । ती देशले आप्रवासी कामदार नीतिमा प्रोटोकलअन्तर्गत भ्याक्सिन अनिवार्य गराउँदा नेपालीहरूलाई जान अप्ठ्यारो परेको हो ।

साउदी, दुबई, कुवेतले तयार गरेको प्रोटोकलमा भ्याक्सिन अनिवार्य गरिएको छ । अमेरिका तथा यूरोपेली मुलुकमा निर्माण गरिएको भ्याक्सिन लगाएका कामदार लिने नीति ती देशको रहेको छ । नेपालमा सरकारले भ्याक्सिनको प्रबन्धमा ढिलाइ गर्दा नेपाल थप रेड जोनमै रहने र शर्त पूरा गरेर नेपाली जान सक्ने अवस्था तत्काल नरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।

‘भ्याक्सिन नलगाएको श्रमिक कुनै पनि देशले लिन मानिरहेको छैन तर नेपालमा सरकारले भ्याक्सिनको प्रबन्ध गर्न सकेन, यसले वैदेशिक रोजगार थप संकटमा धकेलियो,’ श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस