
काठमाडौं । असार पहिलो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मनाङ अहिले सडक सम्पर्कविहीन छ । डुम्रे–बेंसीसहर–चामे सडक खण्डको दर्जन बढी स्थानमा पहिरो खसेको र सडक बगेको छ । जसले गर्दा यातायात ठप्प छ ।
दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्रीलगायत ढुवानी हुन सकेको छैन । डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर सुरज मर्हजनले यसपटक बाढीपहिरोले सडक पूर्वाधारमा सबैभन्दा बढी क्षति मनाङमा भएको दाबी गरे ।
‘सुरुमा काठेपुल बगाउँदा मनाङ सडक सम्पर्कविहीन भएको थियो,’ उनले भने, ‘फेरि पछि जेठ २९ देखि असार ३ सम्म परेको वर्षासँगै आएको बाढीले ठूलो क्षति गरेको हो । बाढीले सडकको ट्र्याक नै बगाएको छ ।’ अहिलेसम्म पनि सडक पुनः सञ्चालनमा आउन नसकेको उनले जनाए । बेंसीसहरदेखि चामेसम्मको दूरी ६५ किलोमिटर छ । जसमध्ये ३५ किमि लमजुङमा र ३० किमि मनाङमा पर्छ । अहिलेसम्म लमजुङबाट मनाङतर्फ २२ किमि क्षेत्र अर्थात् रामबजारसम्म मात्रै सडक खोल्ने काम भइरहेको उनले बताए । ‘रामबजारसम्म सडक खोल्न अझै ४/५ दिन लाग्छ,’ उनले भने ।
मनाङबाट अहिले स्थानीय पैदलै बेंसीसहरसम्म आउन बाध्य छन् । ‘यसरी आउने र मनाङमै रहेकाहरूसँग फोन सम्पर्क गर्दा दर्जनौं स्थानमा पहिरो गएको जानकारी पाएका छौं,’ उनले भने, ‘सबै ठाउँमा आफैं गएर हेर्न पनि सकिएको छैन ।’ सडक पूर्वाधारमा के–कति क्षति भयो भन्नेबारे पैदलै भए पनि सर्भे गर्ने तयारीमा रहेको उनले बताए । ‘त्यसपछि मात्रै क्षतिबारे यकिन हुनेछ,’ उनले भने । सडक नभएपछि बाढीपहिरोपीडितलाई हेलिकप्टरमा राहत सामग्री लग्ने गरिएको छ । त्यस क्षेत्रमा बाढीपहिरोले पहिलोपटक यति ठूलो क्षति निम्त्याएको उनको दाबी छ ।
यस पल्ट बाढीपहिरोको समस्या मनाङमा मात्र रहेको होइन । सडक विभागका अनुसार देशभर राष्ट्रिय राजमार्गअन्तर्गत ६० स्थानमा बाढीपहिरोले सडक अवरुद्ध भएको थियो । जसमध्ये २९ स्थानमा एकफर्ती र १९ स्थानमा दुईतर्फी सडक सञ्चालनमा आइसकेको छ । १२ स्थानमा अझै अवरुद्ध छ । यी खण्डमा सडक नै बगेको र पहिरो आउने क्रम नरोकिएकाले सडकलाई पुरानै अवस्थामा ल्याउन समय लाग्ने जनाइएको छ । बाढीपहिरोले कतै बन्दै गरेका पुल बगाएको छ भने कतै सडक नै बगाएर त्यसको विकल्प खोज्नुपर्ने अवस्था आएको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस