
काठमाडौं । भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने भएको छ । आफ्ना २० प्रतिशत नागरिकलाई दुवै मात्रा खोप लगाइसकेपछि मात्र भारतले छिमेकी देशमा उपलब्ध गराउन ‘प्रयत्न थाल्ने’ अडान राखेको छ । भारतमा दुवै मात्रा खोप लगाइसकेकाको संख्या अहिलेसम्म करिब ५ प्रतिशत छ । एक मात्रा भने २० प्रतिशतभन्दा बढीले लगाएका छन् ।
नेपालमा खोप र उचित स्वास्थ्योपचार सेवा नपाएकै कारण चैतयता मात्र ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । सबै प्रकारका कूटनीतिक संवाद वा द्विपक्षीय उद्योग–वाणिज्यका मामिलाभन्दा अघि बढेर दिल्लीस्थित नेपाली दूतावासले खोपका लागि पहल गरे पनि उपलब्धि केही हात पर्न सकेको छैन । खोपको उपलब्धता, सहजीकरण र प्रत्यक्ष अनुरोधका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव हर्षबर्द्धन शृंगलासँग भेटवार्ता गर्न ३ महिनायता समय मागिए पनि उपलब्ध नभएपछि दिल्लीस्थित दूतावासले गत साता केन्द्रीय रेल्वे, उद्योग तथा वाणिज्य, खाद्यान्न र सार्वजनिकमन्त्री पीयूष गोयलसँग ‘भर्चुअल’ संवाद गरेको थियो ।
‘खरिद सम्झौताअनुसार पहिलो चरणमा भारतबाट उपलब्ध खोप लगाएकाले दोस्रो मात्रा कुरेको १४ साता बितिसकेको छ,’ दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले मन्त्री गोयललाई भनेका थिए, ‘सिरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिइसकेको थप १० लाख मात्रा खोप उपलब्ध गराउन पहल होस् ।’
मन्त्री गोयलले आफू मन्त्री भएर कार्यकाल सुरु हुनासाथै पहिलो भ्रमण काठमाडौंको गरेको सन्दर्भ सुनाएर आफ्नो तहबाट सम्भव भएसम्म खोप उपलब्धताका लागि पहल हुने बताएका थिए । भारतमा दुवै मात्रा खोप पाउने नागरिकको अनुपात २० प्रतिशत नाघेपछि मात्रै छिमेकी देशलाई खोप उपलब्ध गराउन सक्ने जानकारी पाएरै दूतावासले तत्परता अघि बढाएको हो । भारतमा गत जनवरी १५ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ । भारतमा २० प्रतिशतले दुई मात्रा खोप लगाइसक्न कम्तीमा पनि साउन मसान्त लाग्ने अनुमान छ । त्यसैले चाँडोमा पनि अझै डेढ महिना भारतबाट खोप आउन नसक्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस