
एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनको सरकारी टिभी सीजीटीएनसँग कुराकानी गर्दै भनेका छन् कि अमेरिका र पश्चिमी शक्तिहरूले चीनप्रतिको झुकाव कम गर्न पाकिस्तानजस्ता देशहरूमा दबाब दिनु एकदम अन्यायपूर्ण छ।
इमरान खानले चीनको आधिकारिक अङ्ग्रेजी भाषाको च्यानल सीजीटीएनलाई चीनको कम्युनिस्ट पार्टीको १०० वर्ष पूरा भएको र चीन-पाकिस्तान सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा यस्तो भनाइ सार्वजनिक गरेका हुन्।
उनले यो कुराकानीको भिडियो इन्स्टाग्राममा पनि पोस्ट गरेका छन्। जसमा उनले भनेका छन् कि पाकिस्तानले चीनसँगको सम्बन्धलाई कहिले पनि तल्लो तहमा लैजाने छैन किनभने उनीहरूको सम्बन्ध धेरै गहिरो छ।
इमरान खानले भने, "चीन र पाकिस्तानबिचको सम्बन्ध ७० वर्ष अगाडि सुरु भएको थियो र यो एकदम विशेष छ। जब जब पाकिस्तान समस्यामा पर्दछ, चाहे त्यो राजनैतिक, अन्तर्राष्ट्रिय होस् वा छिमेकीहरूसँगको द्वन्द्वको क्रममा चीन सधैँ हामीसँगै रहेको छ। चीनको जनताको दिलमा पाकिस्तानको विशेष स्थान छ।"
इमरान खानले भने कि क्षेत्रीय स्तरमा ठुला शक्तिहरूबिच प्रतिस्पर्धा भइरहेको छ। अमेरिका चीनको अगाडि एकदम सतर्क छ र सबैलाई यो थाहा छ किनकि यो सबैको अगाडि छर्लङ्ग छ ।
यसका साथ इमरान खानले भने कि अमेरिकाले क्वाड नामको क्षेत्रीय गठबन्धन गठन गरिरहेको छ जसमा अमेरिका, भारत र अन्य देशहरू पनि छन्। "यी सबै कुरालाई हेर्दा अमेरिका र पश्चिमी देशहरूले पाकिस्तान जस्तो देशले कसैको पक्ष लिनु पर्छ भन्ने सोच्नु अव्यवहारिक हुनेछ। हामीलाई किन कसैको पक्ष लिनु आवश्यक छ? हामीले सबैसँग राम्रो सम्बन्ध कायम राख्नु पर्छ।" उनले भनेका छन्।
"यदि पाकिस्तानलाई चीनसँगको सम्बन्धमा झुकाव कम गर्न वा परिवर्तन गर्न दबाब दिइयो भने यो कहिले हुनेछैन। चीन र पाकिस्तानबिचको सम्बन्ध अत्यन्तै गहिरो छ र यो सरकारको कारणले मात्र नभई जन-जनता बिचको सम्बन्ध हो।" उनले स्पष्ट पारेका छन्।
त्यहाँ इमरान खानलाई सोधिएको थियो कि उनी चीनसँगको सम्बन्ध अझ मजबुत बनाउन के गर्नेछन्? जवाफमा उनले भने कि "सबैभन्दा पहिले उनीहरूले व्यापारमा ध्यान केन्द्रित गर्नेछन् किनभने सीपीईसी हाम्रो अगाडि भइरहेको छ र यो पाकिस्तानमा ठुलो कुरा हो। पाकिस्तानको आर्थिक भविष्यसँग यो जोडिएको छ। र, राजनीतिक सम्बन्ध बलियो हुँदै गइरहेको छ किनभने पाकिस्तान जहिले पनि अन्तर्राष्ट्रिय तहमा चीनको साथमा छ।"
प्रतिक्रिया दिनुहोस