
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघु, साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्ने सीमा तोके पनि लक्ष्य प्राप्त गर्न भने चुनौती देखिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत असार मसान्तसम्म वाणिज्य बैंकहरूले कुल कर्जाको ११ प्रतिशत १ करोड रुपैयाँभन्दा कमका लघु, साना तथा मझौला उद्यम (एसएमई) मा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर, केन्द्रीय बैंकको १० महीनाको तथ्यांकअनुसार हालसम्म वाणिज्य बैंकहरूले कुल कर्जाको ७ दशमलव ९८ प्रतिशत मात्रै एसएमईमा लगानी गरेका छन् ।
चालू आवको वैशाखसम्मा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको कुल कर्जा ३६ खर्ब ७ अर्बमध्ये २ खर्ब ८७ अर्बको हाराहारीमा एसएमईमा कर्जा गएको छ । असार मसान्तसम्ममा थप १ खर्ब ९ अर्ब हाराहारीमा एसएमईमा लगानी बढाउन सकेमात्र राष्ट्र बैंकले तोकेको लक्ष्य पूरा हुने देखिन्छ ।
यसरी साना तथा मझौला उद्योगमा कर्जा बढाउन चुनौती हुनसक्ने बैंकरहरू बताउँछन् । अहिले अधिकांश बैंकहरूको कुल कर्जाको तुलनामा एसएमईमा गएको कर्जा न्यून भएको बैंकरहरूले स्वीकार गरेका छन् ।
चालू आवको मौद्रिक नीतिले एसएमईमा गर्नुपर्ने लगानीमा बैंकहरूको अवस्था चुनौतीपूर्ण भएको भन्दै यसको म्याद थप्नुपर्ने सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बताउँछन् । ‘एसएमईलाई असारसम्म कुल कर्जाको ११ प्रतिशत दिने भनिए पनि हामीले नसक्ने देखेका छौं ।
त्यसैले हामीलाई थप समय चाहिन्छ,’ उनले अभियानसँग भने । कोभिडका कारण अहिले एसएमई कर्जा प्रवाह हुने अवस्था नभएकाले केन्द्रीय बैंकले तोकेअनुसारको लक्ष्य समयमै प्राप्त हुन चुनौती देखिएको सीईओ पोखरेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस