
एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । बिहीबार विगत दुईदशक यताकै सबैभन्दा ठूलो ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लस एन्जेल्सबाट २४० किलोमिटर उत्तरपूर्वी सहर रिड्जक्रेस्टलाई केन्द्र बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पबाट केही क्षति हुनुका साथै कतिपय स्थानमा आगलागी समेत भएको छ । भूकम्पको धक्का मोजाभ मरुभूमिदेखि प्यासिफिक कोस्टसम्म महसुस गरिएको जनाइएको छ ।
भूकम्पको केन्द्र भएको स्थानमा निकै नै क्षति भएको स्थानीय जिओफिजिस्ट प्राध्यापक जोह रन्डलीले जनाएका छन् । उनले धेरै जनसंख्या भएको क्षेत्रबाट भूकम्पको केन्द्र टाढा परेकोले बढी क्षति हुन नपाएको बताए । रिडजरक्रेस्ट क्षेत्रीय अस्पताललाई खाली गरिएको जनाइएको छ ।
भूकम्पको केन्द्र भएको स्थानमा दर्जनौँ भवनमा आगलागी भएको आशंका गरिएको छ । सो सहरका मेयर पेग्गी ब्रीडेनले सीएनएनलाई बताए अनुसार सहरमा आपतकालको घोषणा गरिएको छ । उनका अनुुसार भवनबाट खसेको सामानले लाग्दा केही मानिसलाई चोट लागेको छ भने ग्याँस लाइनहरु टुटेका छन् ।
भूकम्प करिब १० देखि १५ सेकेण्डसम्म गएको थियो । स्थानीयहरुले केही परकम्पसमेत महसुस गरेका थिए । भूकम्पको धक्का नेभाडाको लसभेगाससम्म महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस