aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, १८ असार २०७८
खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम

काठमाडौं । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ। 

पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले संक्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भाइरस परीक्षण भएकोमा २६ प्रतिशतमा संक्रमण देखिएको छ। बुधबार पनि संक्रमण दर २६ प्रतिशत नै थियो।

चिकित्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले समुदायले समयमै परीक्षण गर्नुपर्छ। तर त्यसो हुन सकेको छैन। टेकु अस्पतालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्रमित हुँदा समेत परीक्षण नभएको देखिएको बताउँछन्। ‘संक्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन्।  

‘हामीले परीक्षणको दायरा बढाउन सकेका छैनौं। कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ। स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित देखिएन,’ उनी भन्छन्। पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनी संक्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन्। ‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फैलिने मौका पायो,’ उनी तर्क गर्छन्। देशका विभिन्न स्थानमा बाढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल संक्रमण ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन्।  

पूर्वनिर्देशक डा। मरासिनीले निषेधाज्ञाका कारण देशले ठूलो सामाजिक तथा आर्थिक मूल्य चुकाउनुपरेको र यसको प्रभाव न्यूनीकरणका लागि सरकारसँग योजना नभएको बताए। ‘चीनले लकडाउनको बेला मानिसलाई बाहिर निस्कनैनपर्ने व्यवस्था गरेको थियो र त्यही हिसाबले त्यहाँ अत्यन्त छिटो महामारी नियन्त्रणमा आउन सकेको थियो,’ डा. मरासिनी भन्छन्, ‘हामीले लकडाउन कति समयसम्म गर्ने योजना बनाउन सकेनौं।’

विशेषगरी भाइरस संक्रमण व्यापक हिसाबले समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका र दुर्गम क्षेत्रका बासिन्दालाई यथेष्ट परीक्षण हुन सकेको छैन। विपन्न तथा दैनिक घरायसी कामको बोझले थिचिएका जनसमुदाय रोग परीक्षणका लागि अन्यत्र जान सकेका छैनन्। परीक्षणप्रतिको आम विश्वास र समयमै गरिने परीक्षणले बिरामी र तिनका परिवारजनको जीवनरक्षा गर्न सक्ने भए पनि आम जनसमुदायको भाइरसप्रतिको समग्र बुझाइ अझै नकारात्मक छ। कोरोना भएकालाई समाजले गर्ने व्यवहार, भाइरसका विषयमा सुरुदेखि देखिएको भय, समाजिक हिसाबले अपहेलित हुनपर्ने डर यथावत् छ। ‘संक्रमण समयमै पत्ता लाग्दा कोभिड–१९ को उपचार सम्भव छ भन्ने सन्देश जाँदा मानिसहरू परीक्षण गर्न सक्छन्,’ पूर्वनिर्देशक डा। राजभण्डारी भन्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेल संक्रमण दर तत्काल घट्ने नदेखिएको र केही सातासम्म यस्तै रहन सक्ने बताउँछन्। पछिल्ला दिनमा लकडाउन आंशिक रूपमा खोलेका कारण आवागमन बढ्दा संक्रमण बढ्न सक्ने बताउँदै उनी भन्छन्, ‘यो बेला स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने आवश्यकता झन् बढेको छ।’ महामारी नियन्त्रणका लागि अत्यधिक जनसंख्यालाई खोप उपलब्ध गराउनुपर्नेमा नेपालको खोप अभियान पछिल्ला दिनमा अत्यन्त कमजोर बनेको छ। 

प्रतिक्रिया दिनुहोस