aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'हामी आक्रामक गतिमा छौं, त्यसैले राम्रो लाभांश दिन्छौं'

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • शुक्रबार, १८ असार २०७८
'हामी आक्रामक गतिमा छौं, त्यसैले राम्रो लाभांश दिन्छौं'

जीवन बीमामा अढाई दशक भन्दा बढी समय बिताइसकेका मनोज कर्ण हाल युनियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका छन्। उनले आफ्नो अनुभवलाई सही प्रयोग गरेका कारण युनियन लाइफ इन्स्योरेन्स नयाँ इन्स्योरेन्स कम्पनीहरूमध्ये सबैभन्दा अगाडी छ । युनियन लाइफले नयाँ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारमा २७ प्रतिशत र समग्र जीवन बीमाको व्यापारमा ८ प्रतिशतको हाराहारीमा बजार हिस्सा ओगटेको छ। प्रस्तुत छ, यिनै अनुभवी र सफल व्यक्तित्वका रूपमा स्थापित कर्णसँग आर्थिक न्युजका विजय फुयाँलले गरेको संवादको सम्पादित अंश :

निषेधाज्ञाको प्रभाव बीमा क्षेत्रमा कस्तो रह्यो ? तपाइँहरुले त्यो बेला कसरी व्यवस्थापन गर्नु भयो ?

जीवन बीमा र निर्जीवन बीमा दुवै बीमा क्षेत्रमा कोरोनाको प्रभाव निकै नै परेको छ। अहिलेको परिस्थितिमा बैंकका ऋणहरू नबढ्ने र गाडीहरू किन्ने अवस्था पनि नभएका कारण निर्जीवन बीमा भएको छैन। जीवन बीमामा पनि लकडाउनले ठुलो प्रभाव पारेको छ । केही महिना यता बीमाको व्यवसाय नै बन्द भएको छ भन्दा हुन्छ । जे जति आएको छ त्यसलाई व्यवस्थापन गर्न र भुक्तानी गर्न कुनै गाह्रो भएन। यो अवधिमा आएका बिजनेसलाई सहजै रूपमा व्यवस्थापन गरेका छौ । 

युनियन लाइफ आइपियो निष्कासनको अन्तिम तयारीमा छ, कस्तो अनुमान लगाउनु भएको छ ?

युनियन लाइफको जुन हिसाबको छाप परेको छ त्यस हिसाबले बजारमा राम्रो हिसाबमा जाने छ । साधारण सेयर बिक्री निष्कासन असार २४ गते हुनेछ । जुन छिटोमा२८ गते र ढिलोमा साउन ७ गतेसम्म रहन सक्छ। मेरो विचारमा २८ गते निष्कासन बन्द हुन सक्छ । 

हामी ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने छौ । जसमा ३ लाख २२ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि र कर्मचारीका लागि ३ लाख २२ हजार ५ सय कित्ता अर्थात् ५ प्रतिशत छुट्याइएको छ। बाकिँ ५८ लाख ५ हजार कित्ता चाही सर्वसाधारणको लागि छुट्याएका छौ । यसको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ । 

आम शेयरधनीहरुलाई प्रतिफल दिनु पर्ने हुन्छ। कति सम्म लाभांश दिन सक्नु हुन्छ ?

अहिले नै लाभांशको विषयमा केही भन्न सकिँदैन । भर्खरै कम्पनी खोलेका छौ र शेयर निष्कासन हुदैछ । शाखाहरू खोल्ने, कर्मचारी थप्ने काम पनि भइरहेका छन्। हामी एकदमै आक्रामक हिसाबले गइरहेका छौ र आउने दिनमा राम्रै लाभांश दिन्छौ भन्ने विश्वास छ। 

हाल कम्पनीको वित्तीय चाहिँ कस्तो रहेको छ?

हाम्रो वित्तीय अवस्था समग्रमा राम्रो नै रहेको छ । लकडाउन भए पनि बिजनेस ४० प्रतिशत वृद्धि गरेकै छौ । हामीले तीन महिना काम गर्न नपाए पनि फागुनसम्म धेरै आक्रामक रूपमा गएका थियौ। र, धेरै व्यवसाय गरिसकेका थियौ । त्यसैले गर्दा कम्पनीको जुन अवस्था हुनुपर्ने हो त्यो राम्रो नै छ । 

अहिले जुन हिसाबले शाखा खोल्यौ र कर्मचारीहरू छन् । अहिले जुन हिसाबले इन्फ्राइन्स्ट्रक्चरमा खर्च भएको छ। त्यसको प्रभाव के हुन्छ भने एक/डेढ वर्ष पछि राम्रो नै हुन्छ । अहिले २ सय शाखा खोलेर पनि यो स्थितिमा आउनु भनेको एकदमै राम्रो हो । दुई तीन वर्ष यो हिसाबले वृद्धि हुन्छ । समग्रमा युनियन लाइफको एकदमै राम्रो अवस्था रहेको छ । 

छोटो अवधिमा नै ठुलो छलाङ मार्नु भएको छ । कम्पनीको खास त्यस्तो के छ विशेषता ? 

युनियन लाइफको काम गर्ने जुन स्टाइल छ नि त्यो नै सफलताको राज हो । सुरु मै यति धेरै ब्रान्च खोल्नु चानचुने कुरा होइन । दुई सय ब्रान्च खोलेर सेवा गर्नु त्यो पनि ३/४ वर्षमा, त्यो कम्पनीका लागि ठुलो कुरा हो । यसैले गर्दा युनियनले नयाँ बीमा कम्पनीमा २७ प्रतिशत र  पुरानो बीमा कम्पनीमा ८ प्रतिशतको हाराहारीमा बजार हिस्सा ओगटेको छ।

अबका दिन व्यवसायको पाटोमा ध्यान दिँदैछौं। त्यसै कारणले अब सोचेको भन्दा अलग तरिकाले कम्पनीको ग्रोथ हुन्छ । अर्को कुरा व्यवस्थापन तर्फ हाम्रो एकदमै परिपक्व र अनुभवी टिम छ । बोर्डमा प्रतिष्ठित बोर्डका मेम्बर र प्रोमोटरहरु छन् । जसमा जगदम्बा, गोल्छा, गार्डिया, राजेश हार्डवेयर लगायतका ग्रुपहरू छन् । स्टाफहरु पनि हरेक क्षेत्रहरुमा क्षेत्रीय कार्यालयहरू खोलिसकेका र अनुभवी छन् । जस कारण युनियन लाइफको भविष्य राम्रो छ । 

अर्को कुरा, बीमा गराउनु ठुलो कुरा होइन दाबी भुक्तानी दिनु ठुलो कुरो हो । जुन काम  गर्न हामी ढिलाइ गर्दैनौ । कोरोनाको समयमा पनि बिजनेस आओस् वा नआओस् यदि दाबी पर्‍यो भने हामीले चेक घरमा नै पठाइदियौ। अस्ति मात्रै कोरोनाबाट मृत्यु भएको क्लेम परेको थियो, ५० लाखको। हामीले डल्लुको घरमा स्टाफ पठाएर चेक दिन लगायौ । ता कि लागोस् युनियन लाइफ घर घरमा पुगिरहेको छ, भन्ने । जुन हिसाबले आम मानिसहरू पनि हाम्रो विश्वास गरिरहेका छन् त्यसले पनि देखाउँछ कि हाम्रो भविष्य राम्रो छ। 

धेरै ग्राहकबाट रुचाइएका तपाइहरूका प्रोडक्टहरु के के छन्?

प्रडक्ट सबै आफैमा राम्रा छन् । प्रडक्ट भनेको मानिसले समय अनुसार लिने हुन् । घरमा बच्चा छन् त्यही अनुसारको। बढी उमेरका छन् भने त्यसै अनुसारको लिने हो । सम्बन्धित व्यक्ति अनुसार प्रडक्ट बेच्न सक्नु पर्छ । प्रडक्टमा कुनै  पनि खराब हुँदैन। प्रडक्ट लिने व्यक्तिको पहिला पहिचान गर्नु पर्छ । कुन प्रडक्ट दिँदा राम्रो होला भनेर । 

मानौँ, सीमित भुक्तानी भन्ने प्रडक्ट छ भने जसमा धेरै कमाइ छ । चार/पाँच वर्षको लागि प्रिमियमको तिर्न सटरको लागि किन्न सक्छ । कोही सिङ्गल प्रिमियम तिरेर बीमा गराउँछन् । कोही म्यचुरीटी र आफ्टर म्यचुरीटी पैसा लिने पनि हुन्छन् । त्यसै अनुसारका पोलिसी दिने हो । त्यसैले गर्दा यसमा कुन प्रडक्ट राम्रो  कुन नराम्रो भन्न मिल्दैन । हामीले जति पनि प्रडक्ट ल्याएका हुन्छौ ती आफैमा सबै राम्रा छन् । तर कुन ठाउँमा कुन प्रडक्ट बेच्ने त्यो अभिकर्ताले निर्णय गर्ने हो। 

पछिल्लो समयमा मानिसहरूको आर्थिक हैसियत पहिचान नै नगरी ठुलो परिणामको बीमा गराएका कारण अपराधका घटना बढ्दै गएको देखिन्छ। बीमा समितिमा पनि सयौँको उजुरी छ। किन यस्तो भइरहेको छ ? यसलाई कसरी रोक्न सकिन्छ ?

यसलाई रोक्न मिल्दैन । जो मान्छेको नियत खराब हुन्छ त्यसले अपराध गर्छ। कोही कोही मान्छे के हुन्छन् भने क्यान्सर पीडित हुन्छन्, केही छैन भनेर बीमा गर्छन् । त्यस्तो अवस्थामा स्वाभाविक रूपमा बीमा कम्पनीले पैसा दिदैन्।  बीमा विश्वासको आधारमा चल्ने हो । अविश्वासको आधारमा चल्दैन, कम्पनीहरू । 

प्रिमियम पाएँ भन्दैमा बीमा गर्न मिल्दैन, अभिकर्ताले पनि । त्यसैले गर्दा अन्डरराइटिङको नियमको के हुन्छ भने आयस्रोतको परिणाम कति छ, बीमा गर्दा खेरी आयस्रोत खुलाउनु पर्ने हुन्छ । कसैले चायो भन्दैमा १० अर्बको बीमा गर्न पाइँदैन । वर्षभरिको तलब कति छ त्यो अनुसार कम्पनीले प्रिमियम तिर्ने हैसियत छ  कि छैन भनेर अन्डरराइटिङ गर्छ । सोही अनुसार हुन्छ। जथाभाबी बीमा हुँदैन । 

त्यो बीमाको सिद्धान्त हो । बीमा ओभर र अन्डर गर्नु हुदैन् । नेपालमा सामान्यतया नेपालमा अन्डर इन्स्युरेन्स भइरहेको छ । ओभर इन्स्युरेन्स धेरै कम हुन्छ । त्यो पनि गर्नु हुँदैन । कुनै प्रडक्टलाई लोभ्याएर धेरै राम्रो छ भनेर त्यो पनि गर्नु भएन । किनकि भोलि सरेन्डर हुने चान्स हुन्छ । सरेन्डर हुँदा ग्राहकलाई पनि घाटा, अभि कर्ता र बीमालाई पनि घाटा हुन्छ । दुई चार वटा गल्तीहरू भइरहेका हामीले पनि महसुस गरेका छौ । 

सरकारले बजेट मार्फत बीमाको पहुँच एक तिहाइ जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको छ। यसको लागि सम्बन्धित निकायले कस्तो भूमिका निर्वाह गर्नु पर्छ?

बीमाको दायरा ३३ प्रतिशत पुर्‍याउनु त्यति गाह्रो कुरा होइन। सरकारले पुर्‍याउनु पर्छ भनेको छ त्यसको प्रशंसा गर्नु पर्छ । बीमा त एक तिहाइ किन ९० प्रतिशत मान्छेले गर्नु पर्छ । बीमा त आफ्नो 'पार्ट एण्ड पार्सल' हो। यसमा बीमा समितिको भूमिमा राम्रो नै छ । 

जागिर गर्ने, व्यवसाय गर्ने, विदेश कमाइ गर्ने सबैले बीमा गर्नु पर्छ । भोलिको दिन सबैको राम्रो नै हुन्छ भन्ने छैन त्यसैले ठुलो रकममा होस् या आफ्नो क्षमता अनुसारको, बीमा चाहिँ गरिरहनु पर्छ । बीमा त प्रत्येकले गर्नु पर्छ । प्रत्येकले गर्न सक्छ । अलिकति पैसा बचायो भने राम्रो बीमा हुन्छ । 

म त त्यो उदाहरण दिन चाहन्छु। २० प्रतिशत नखाँदा आयु पनि बढ्छ, स्वास्थ्य पनि राम्रो हुन्छ । हामी पनि ८० प्रतिशत मात्र खाना खाएर २० प्रतिशत बचाएर बीमाको लागि राखौं।  यता आयु नि बढ्छ बीमा नि हुन्छ । अहिले ९० प्रतिशत मानिस त राम्ररी खाइरहेका छन्, तिनीहरूलाई यही भन्न चाहन्छु । 

 बैंकाइन्स्योरेन्स पुनः सुरु हुने हल्ला छ। यसको आवश्यकता कत्तिको देख्नु भएको छ ?

 बैंकाइन्स्योरेन्स जो विगतका दिनमा भइरहेका थिए । त्यो दुरुपयोग भइरहेको थियो। जो जो लोन लिन जान्थे त्यसको जबरजस्ती बीमा गराइन्थ्यो । अहिले के नतिजा छ भने सरेन्डर हुने चान्स छ किनकि लोन नै तिर्न सकिरहेको छैन बीमाको पैसा कहाँबाट र्तिछन् । बैंकाइन्स्योरेन्स हुनुपर्छ तर त्यसको नीति नियम बन्नु पर्छ त्यसको प्रडक्ट आफ्नै हिसाबको बन्नु पर्छ । विगतका दिनमा भएको त्यो नराम्रो अनुभव थियो । बैंकहरु पनि लगभग ब्रान्चमा गइसकेका थिए । टार्गेट नै हुने गरेको थियो यति गर भनेर। जुन हिसाबले भएको थियो त्यो नहुनु पर्थ्यो । तर मेरो विचार अब धेरै एक्सरसाइज गरेर ल्याइन्छ भने त्यो राम्रै हुन्छ । 

निर्जीवन बीमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बेला जीवन बीमामा पनि अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ। यस बारे के भन्नु हुन्छ ? 

निर्जीवन बीमामा अस्वस्थ छ कि छैन थाहा छैन । तर निर्जीवन बीमा के हुन्छ भने तपाईँले चढिरहेको गाडीको बीमा एक वर्षको हुन्छ । त्यो अर्को वर्ष जुनसुकै बीमा कम्पनीबाट बीमा गर्न सकिन्छ । जसमा २० वटा कम्पनी जुनसुकैबाट पनि एप्रोच गरेको हुन्छ । तर, जीवन बीमामा के हुन्छ भने जुनमा बीमा गर्नु भयो त्यही प्रडक्ट त अरूसँग छैन । फेरी क्यापासिटीको आधार अर्को कम्पनीमा पनि गराउनु हुन्छ । निर्जीवन बीमा र जीवन बिमामा प्रकृति फरक छ । जीवन बीमामा त्यस्तो अवस्था छैन । लगभग २६ प्रतिशत बीमाको पेन्ट्रेसन भएको छ पुरै मार्केट खाली छ अहिले । त्यसैले गर्दा अस्वस्थ प्रतिस्पर्धा मैले देखि रहेको छैन । 

नयाँ जीवन बीमा कम्पनी खुल्ने चर्चा छ। के त्यो आवश्यक देख्नुहुन्छ ?

मेरो विचारमा यसमा गहन अध्ययन गर्नु पर्छ । सम्बन्धित निकायहरूको गहन अध्ययन पश्चात् मात्र नयाँ आवश्यक भए दिनु पर्छ । निर्जीवन बीमा बजारलाई चाहिएको पनि हुनसक्छ । जीवन बीमा भने सरकारले दिनु हुँदैन । 

प्रतिक्रिया दिनुहोस