aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २१ असार २०७८
कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।

समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ ।

गजुरेलले भने, “सो ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्नु प्राविधिक, आर्थिक, वातावरणीय, सामाजिक दृष्टिकोणले उपयुक्त रहेको सो अध्ययनले देखाएको छ ।” सो बन्दरगाह निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८÷७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न गर्ने बताउँदै उहाँले डीपीआर र ईआईए गर्न बजेटको समेत सुनिश्चितता भइसकेको जानकारी दिनुभयो ।
अध्ययन प्रतिवेदनले सो बन्दरगाहको निर्माण कार्य दुई चरणमा सम्पन गर्ने प्रस्ताव गरेको कार्यकारी प्रमुख गजुरेलले बताए । बन्दरगाह निर्माण गरिदिन चीन सरकारसँग समेत छलफल भइरहेको जानकारी उनले दिए । बन्दरगाह निर्माणका लागि जग्गासमेत सुनिश्चित भइसकेको छ ।

प्रतिवेदनअनुसार सो सुक्खा बन्दरगाहको कुल निर्माण लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपियाँ अनुमान गरिएको छ । करिब साढे चार सय रोपनी क्षेत्रफलमा निर्माण हुने सो बन्दरगाहका लागि जग्गा सुनिश्चित भइसकेको गजुरेलले जानकारी दिए । सो ठाउँमा सार्वजनिक जग्गा नै प्रशस्त छ । निजी जग्गा अधिग्रहण गर्नु नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस