aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

वैदेशिक रोजगारीमा खोप मुख्य सर्त

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, २१ असार २०७८
वैदेशिक रोजगारीमा खोप मुख्य सर्त

काठमाडौं । प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् ।

कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लगिरहेका छन् ।

कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन ९उद्योग० तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो ।

कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । ‘खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी,’ उनले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड भयो ।’ कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।

यूएईले वैशाख २३ देखि नेपालबाट कामदार लिएको छैन । कोरोनाको ठूलो मारमा परेको भारतलाई भने उसले खुला गरेको छ । कात्तिकयता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको छ । कामदार छनोट गरी उडान भर्ने बेला यूएईले नेपालमाथि प्रतिबन्ध लगाएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालमा कोरोनाको संक्रमण दर घटिरहेको हुनाले प्रतिबन्ध खोल्न यूएई सरकारलाई अनुरोध भइसकेको बताए । 

प्रतिक्रिया दिनुहोस