aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कालोसूचीमा परेकामध्ये ७५ प्रतिशत चेक बाउन्सबाट

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २२ असार २०७८
कालोसूचीमा परेकामध्ये ७५ प्रतिशत चेक बाउन्सबाट

काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीमध्ये ७५ प्रतिशतभन्दा बढी चेक बाउन्सका कारणले हुँदै आएको पाइएको छ । पछिल्ला तीन वर्षमा कालोसूचीमा परेका ऋणीमध्ये औसतमा ७५ प्रतिशतभन्दा बढी चेक बाउन्सका कारणले रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको हो ।

आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा कालोसूचीमा परिन्छ । यसरी दुई वा सोभन्दा बढी पटकसम्म बैंकबाट पैसा निकाल्न नपाएपछि चेक लिने मानिसले चेक काट्नेलाई चेक बाउन्सको कसुरमा कालोसूचीमा राख्ने उजुरी गर्न सक्छ । उजुरीका आधारमा सम्बद्ध बैंकले चेक काट्ने व्यक्तिलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्छ । तर यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिनाभित्र दिइसक्नुपर्नेछ ।

कालोसूचीमा पर्नेहरूमध्ये बहुसंख्यक चेक बाउन्सका कारण रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । यसअनुसार चालु आर्थिक वर्ष ९यही असार १५ सम्म० थप ६ हजार १ सय २५ जना ऋणी कालोसूचीमा परेका छन् । तीमध्ये ४ हजार ६ सय ५७ जना ऋण चेक बाउन्सका कारणले कालोसूचीमा परेका छन् । यो उक्त अवधिमा कालोसूचीमा परेका ऋणी संख्याको ७६ प्रतिशत हो । बाँकी १ हजार ४ सय ६८ जना कर्जा नतिरेका कारण कालोसूचीमा परेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा कुल ४ हजार ६ सय २० जना ऋणी कालोसूचीमा परेका छन् । त्यसको करिब ७४ प्रतिशत चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा कालोसूचीमा परेकामध्ये ६७ प्रतिशत चेक बाउन्सका कारण भएको कर्जा सूचना केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस