
काठमाडौं । हाम्रो छिमेकी मुलुक पाकिस्तान लगभग कोरोना महामारी पूर्वको अवस्थामा पुगेको देखिएको छ । हालै दि इकोनोमिस्टले सार्वजनिक गरेको ग्लोबल नर्माल्सी इन्डेक्समा ८४.४ अंक ल्याएर पाकिस्तान तेस्रो नम्बरमा पुगेको छ ।
विश्वभरिका ५० वटा देशहरूलाई सो पत्रिकाले आफ्नो अध्ययनमा सामेल गरेर कोरोना महामारी पूर्वको र हालको अवस्थाको तुलना गरेको थियो । जसमा कोरोना महामारी सुरु हुनुभन्दा अघिको जीवन र अहिलेको जीवनलाई तुलना गर्न आठ वटा इन्डेक्सहरू तयार गरी अध्ययन गरिएको थियो ।
सो इन्डेक्सको पहिलो नम्बरमा ९६.३ अंकका साथ हङकङ रहेको छ भने दोस्रोमा ८७.८ अंक पाएर न्युजल्याण्डले उत्कृष्टता देखाएको छ । तेस्रोमा रहेको पाकिस्तानसँग सीमा जोडिएको हाम्रै अर्को छिमेकी मुलुक भारत भने ४६.५ अंकका साथ अन्तिमबाट तेस्रो बन्दै ४८ औँ स्थानमा रहेको छ ।
उता कोरोना महामारी सुरु भएको देश चीन भने ७२.९ अंकका साथ १९ औँ स्थानमा छ । चीनसंग जोरी खोजिरहेको अमेरिका यसमा पनि चीन भन्दा पछि पर्दै २० औं स्थानमा छ । जसको ७२.८ अंक छ ।
यो इन्डेक्स तयार गर्दा मानिसहरूको घरबाट बाहिर निस्किन सक्ने स्थिति, खुद्रा व्यापार, कार्यालय खुल्ने अवस्था, सार्वजनिक यातायात, सडकमा देखिएको सवारीको भिड, हवाई उडान, सिनेमा हलको सञ्चालन र खेलकुद जस्ता आठ गतिविधहरुको मापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस