aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, २४ असार २०७८
असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप

काठमाडौं । दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार तेस्रो साता मात्रै निक्षेप संकलन ४७ अर्बले वृद्धि भएर कुल निक्षेप ४० खर्ब ४६ अर्ब पुगेको छ । प्रायः असार मसान्त नजिकिएसँगै सरकारको भुक्तानी बैंकिङ प्रणालीमा आउने भएकाले पनि निक्षेप संकलन ह्वात्तै बढ्ने गरेको छ । 

गत वैशाख १६ यता मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएपछि निक्षेप संकलनमा पनि उतारचढाव आएको पाइन्छ । असार पहिलो सातापछि निषेधाज्ञा केही खुकुलो बनाउन थालेकाले अर्थतन्त्र पुनः चलायमान हुन थालेको र बैंकिङ प्रणालीमा पनि निक्षेप संकलन बढ्न गएको बैंकरहरूको भनाइ छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको असार पहिलो साता निक्षेप वृद्धि शून्य थियो । तर, दोस्रो साता ८ अर्बले थपिएर कुल निक्षेप ३९ खर्ब ९९ अर्ब पुगेको थियो ।

पछिल्लो समयको वृद्धिको तुलनामा यसअघिका २ महीनाको मासिक निक्षेप वृद्धि कम देखियो । जेठ महीनामा ३६ अर्बले मात्रै निक्षेप थपिँदा कुल निक्षेप  ३९ खर्ब ९१ अर्ब पुगेको थियो । गत वैशाखमा ११ अर्बले निक्षेप वृद्धि भएको थियो ।

यसअघि निषेधाज्ञाका बीच पनि प्रक्रियामा रहेका कर्जाले गर्दा कर्जा प्रवाह बढिरहेको थियो । तर, निक्षेप संकलन भने अपेक्षाअनुसार नभएको गुनासो बैंकरहरूले गरेका थिए । तर, असार महीनामा भने निक्षेप वृद्धिले गति लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस