aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

अनलाइन सरुवा प्रणाली प्रभावकारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, २४ असार २०७८
अनलाइन सरुवा प्रणाली प्रभावकारी

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा भए ।

बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा नगरे पनि सरुवा भएपछि उनले अनलाइन प्रणालीबाट गरिएको सरुवा प्रभावकारी भएको अनुभव गरे । पार्धेले भने, “अनलाइनबाट सरुवाको निवेदन गर्दा बिनाझन्झट भनसुन नै नगरी सजिलै सरुवा हुँदो रहेछ, सरुवाका लागि अनलाइन प्रणाली प्रभावकारी भएको मैले महसुस गरेँ ।”

पार्धेजस्तै जिल्ला हुलाक कार्यालय महोत्तरीबाट राष्ट्रिय किताबखानामा सरुवा भएकी सरिता अधिकारीले पनि अनलाइन प्रणाली प्रभावकारी भएको बताए । “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कसैलाई चिनेको छैन”, उनले भने, “अनलाइनबाट निवेदन दिएको चार दिनमै मन्त्रालयबाट पत्र बनिसकेको छ भनेर फोन आयो ।”

उनका अनुसार अनलाइन फाराममा सेवा गर्न जाने कार्यालय रोज्ने अवसर दिइएको हुन्छ । “मैले आफूलाई पायक पर्ने र दरबन्दी खाली भएको निजामती किताबखानामा सेवा गर्न फाराम भरेँ, आफूले रोजेकै कार्यालयमा चार दिनमै सजिलै सरुवा भयो”, उनले भने । 

गत मङ्सिरदेखि मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये२५३ जनाको रोजेकै कार्यालयमा सरुवा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस