
काठमाडौं । भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ । यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोत्ताको भान्सामा पुग्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय लिएको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बताए ।
वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले असारदेखि लागू हुने गरी आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । यो व्यवस्था राजपत्रमा प्रकाशित गरी लागू भएको थियो । कृषि मन्त्रालयले विषादी परीक्षणको काम गर्न थालेको थियो । 'परीक्षण थालेपछि हल्लाखल्ला भयो,'मन्त्री खनालले भने,'हिजो फेरि वाणिज्यले पूर्वाधार नभएको भन्दै परीक्षण गर्न नसक्ने अर्को प्रस्ताव मन्त्रिपरिषद्मा ल्यायो, सोही प्रस्ताव पारित भयो ।' प्रयोगशाला र पर्याप्त पूर्वाधार नभई विषादी परीक्षण सुरु गर्दा नाकामा समस्या भएको थियो ।
धेरै तरकारी आयात हुनबाट रोकिएको थियो । यसमा नेपालस्थित भारतीय दूतावासले समेत सरकारका उच्च अधिकारीसँग आपत्ति जनाएको थियो । उसले पत्राचारै गरेर विरोध गरेको थियो ।
प्लान्ट क्वारेन्टाइन एवं बिषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करिब २९ ग्रुपका बिषादी प्रयोग भइरहेका छन् । फलफूल तथा तरकारीमा दर्जन ग्रुपका बिषादी प्रयोग गरिन्छ । तर, ती मध्ये नेपाली प्रयोगशालाबाट दुई ग्रुप (काब्रामाइट र अर्गानोफोस्पेट)को मात्रै परीक्षण हुन्छ । ती बाहेक अन्य ग्रुपको बिषादी स्वदेशी प्रयोगशालाले एकिन गर्न सक्दैन । बिषादी परीक्षणबाहेक बिषादीको अवशेष मात्रा पनि निर्धारण गरिएको छैन ।
असार २ गते राजपत्रमा प्रकाशित सूचित आदेशमा ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नु पर्नेछ’ भन्ने वाक्यांश उल्लेख छ । जसअनुसार व्यवसायीले तरकारी तथा फलफूल आयात गर्दा अनिवार्य परीक्षण गर्नुपर्छ । तर, सरकारसँग बिषादी परीक्षण गर्ने प्रयोगशाला छैन । परीक्षण गर्न दक्ष कर्मचारी पनि छैन ।
कृषि मन्त्रालयअर्न्तगत बिर्तामोड, सर्लाही, काठमाडौं, पोखरा, नेपालगन्ज, अत्तरिया र बुटवलमा पनि प्रयोगशाला छ । तर, ती प्रयोशालाको अवस्था पनि उस्तै छ । कर्मचारी पनि अभाव । बुटवलमा कर्मचारी अभावले परीक्षण नै हुन सकेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस