aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

रेल सेट खरिद गरेर ल्याएको करिब १० महिना पुग्यो, सञ्चालनको मिति सरेको–सर्‍यै

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, २४ असार २०७८
रेल सेट खरिद गरेर ल्याएको करिब १० महिना पुग्यो, सञ्चालनको मिति सरेको–सर्‍यै

काठमाडौं । भारतबाट रेल सेट खरिद गरेर ल्याएको १० महिना पुग्न लाग्यो । तर अझै सञ्चालनको टुंगो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्दै आए पनि भारतले निर्माण गरेका संरचना अझै हस्तान्तरण हुन सकेका छैनन् । पछिल्लो पटक असार अन्तिमसम्म रेल चलाउने तयारी थियो ।

असोज २ मा जयनगर–जनकपुर कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने भन्दै रेल सेट भित्र्याइएको थियो । दुवै सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्प अघि पालले छोपेर राखिएको छ । यसको रेखदेख सशस्त्र प्रहरीले गर्दै आएको छ । कहिलेबाट रेल चल्छ भन्नेमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई आफैं अनभिज्ञ छन् । तयारी पूरा भए पुस अन्तिमसम्म सञ्चालनमा आउने कम्पनीको भनाइ थियो । तर माघको आधा बित्न लाग्दा पनि चल्ने सुरसार देखिँदैन ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो । उक्त रकमको ५ प्रतिशत धरौटीका रूपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरी सकिएको महाप्रबन्धक भट्टराईले बताए । अहिले कोंकणकै प्राविधिकले रेल नचलाउँदासम्म प्राविधिक जाँच गर्दै आएका छन् ।

‘संरचना हस्तान्तरण चाँडै हुँदै छ, शनिबार कम्पनीबाट एउटा टिम जयनगर जानेछ,’ महाप्रबन्धक भट्टराईले भने, ‘सबै संरचना हेरी सकेपछि एक साताभित्र संरचना हस्तान्तरण गर्ने भन्ने छ ।’ रेल चलाउनका लागि आवश्यक पर्ने कर्मचारीका सम्बन्धमा बिहीबार बस्ने मन्त्रिपरिषद्मा फाइल लग्ने प्रस्ताव भएको उनको भनाइ छ । ‘ज्यालादारीमा कर्मचारी राख्ने र कोंकण रेल्वे कम्पनीको वित्तीय प्रस्तावको कुरा छ,’ उनले भने । उनका अनुसार रेल यही दिन सञ्चालन गर्ने भनेर मिति तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस