
काठमाडौं । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको छ । बुधबार ७ हजार ८ सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जना अर्थात् २६.५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
यो पछिल्लो एक सातामा देखिएको सबैभन्दा बढी संक्रमण दर हो । आइतबार २१.३६, सोमबार २३.२६ र मंगलबार २२.८९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।
यो तथ्यांकले तेस्रो लहरको स्पष्ट संकेत गरेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार बहुसंख्यक नागरिकलाई खोप नपुर्याउँदा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ विस्तार नहुँदा र संक्रमितलाई आइसोलेसनमा व्यवस्थित गर्न नसक्दा संक्रमण दरमा कमी नआएको हो ।
‘१०–२० जनामा संक्रमण देखिए देशभर फैलिन सक्ने स्थितिमा अझै दिनहुँ करिब दुई–तीन हजारमा संक्रमण देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले भने, ‘निषेधाज्ञाताका घरभित्रै परिवारबीच रहेको भाइरस हाल खुला भएर समाजमा पुनः फैलिन थालेको छ ।’ सरकारले कन्ट्याक्ट ट्रेसिङ नगर्दा समस्या देखिएको उनले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै जना पोजिटिभ निस्किन्थे । जसलाई आइसोलेसनमा बसाउँदा समाजमा संक्रमण फैलने र बढ्ने सम्भावना घट्थ्यो,’ उनले भने ।
छाती दुख्ने, सास फेर्न गाह्रो हुनेलगायत गम्भीर बिरामी मात्र परीक्षण गराउन गइरहेका छन् । निषेधाज्ञाको समयमा कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआर परीक्षणको दायरा बढाएको भए हाल दैनिक संक्रमित पाँच सयभन्दा कम हुन सक्ने डा। मरासिनीले दाबी गरे । ‘सरकारले आईसीयू, भेन्टिलेटरमा एक जना बिरामीका लागि १० लाखभन्दा बढी खर्च गर्ने तर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण नगर्दा तेस्रो लहर आउने निश्चित छ,’ उनले भने । ईडीसीडीका अर्का पूर्वनिर्देशक डा। जीडी ठाकुर दैनिक संक्रमण दर एक चौथाइभन्दा बढी देखिनु नराम्रो संकेत भएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस