
धनगढी । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् ।
कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् । तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी/बुहारी र नातिनातिना छन् ।
घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन् । सबैको विवाह भइसकेको छ । यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ । साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन् । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन् ।
गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो । संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली हुनुहुन्छ ।
आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उहाँ बताउनुहुन्छ । “सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”, घरमूली डिल्लीराजले भन्नुभयो, “अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो ।” यसका साथै, प्रायः सबैलाई आफूले काममा लगाएको उहाँको भनाइ छ । “सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरो काट्ने कसैलाई फुर्सद छैन”, डिल्लीराजले भन्नुभयो ।
आमाबुवा र छोराछोरी मात्रै भएको परिवार पनि मिलेर बस्न नसकिरहेको बेला पाँच दाजुभाइका सन्तान मिलेर बस्दा अङ्ग्रेजीलालको खुसीको सीमा नै छैन । ७५ वर्षीय उहाँ भन्नुहुन्छ, “म धर्तीको यस्तो भाग्यमानी व्यक्ति हुँ, जसले यति धेरै सदस्य एकैसाथ बसेको देख्न पाएको छु । ”
माइलो भाइको जेठो छोरा बलिचरण नेपाल सरकारको जागिरे हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका बलिचरणले परिवारका सदस्यको स्वास्थ्य हेरचाहदेखि आवश्यक सरसल्लाह दिँदै आउनुभएको छ ।
ठूलो परिवार भएकाले चाडपर्वबाहेक अरू दिन सबै सदस्य घरमा सँगै हुँदैनन् । कोही न कोही हरेक दिन बाहिर जाने गरेको बताइएको छ । परिवारका लागि साँझबिहान दुई÷तीन जना गृहिणीले मिलेर खाना पकाउने गर्दछन् । दिनभरि खानाको मेस चल्ने गरेको छ ।
भान्साको काम गर्दै गरेको अवस्थामा भेटिनुभएकी सुशीलाले संयुक्त परिवारका लागि खाना पकाउँदा राम्रै लाग्ने गरेको सुनाउनुभयो । दुई÷तीन जना मिलेर खाना पकाउँछौँ, उहाँले थप्नुभयो, ‘परिवार ठूलो भए पनि मिलेर खाना पकाउँदा झ्याउ लाग्दैन । ’ उक्त परिवारका लागि एकै छाकमा झन्डै २०/२५ किलो चामल पाक्ने गरेको छ । घरका सदस्यहरू पालैपालो आएर खाना खाने गरेको अर्की गृहणी सीता चौधरी कठरियाले सुनाउनुभयो ।
वर्षमा दुईपटकसम्म परिवारका सदस्यलाई लत्ताकपडा खरिद गर्ने गरिएको छ । यसैगरी, चाडपर्व र विशेष अवसर पारेर परिवारलाई मासु खुवाउने गरेको घरमूली डिल्लीराजले बताउनुभयो । “एकै छाकका लागि कम्तीमा दुईवटा खसी आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “वर्षभरि मासुमा मात्रै तीन लाख रुपियाँ खर्च गर्ने गरेको छु । ”
कठरिया परिवारको आर्थिक पाटो
ठूलो परिवार, खर्च पनि ठूलै । खर्च धेरै भए पनि यो परिवारको पैतृक सम्पत्ति धेरै छैन । नम्बरी जग्गा दुई कट्ठा र ऐलानी घरबाससमेत गरेर चार बिघा जमिन छ । जग्गा जमिन धेरै नभएकाले कठरिया परिवारको विगत कहाली लाग्दो थियो । मजदुरी गरेर जीवनयापन गरेका उनीहरू अहिले भने राम्रो अवस्थामा पुगेका छन् ।
युवापुस्ता विभिन्न पेसामा आबद्ध भई आर्थिक आर्जन गर्न थालेपछि परिवारको अवस्थामा सुधार आएको माइलो भाइ रामचन्दर बताउनुहुन्छ ।
‘पहिले अवस्था नाजुक थियो, अहिले छैन’, उहाँले भन्नुभयो । अचेल यो परिवारले ठेक्का/बटैया गरेर झन्डै २० बिघा जमिनमा खेतीपातीगर्दै आएको छ । जसमध्ये खानका लागि एक बिघा जमिनमा तरकारी खेती मात्रै गर्ने गरिएको जनाइएको छ ।
यसैगरी, यो परिवारको मेडिकल, कस्मेटिक र किराना गरी तीन पसल छ । कुटानीपिसानीको मिल पनि सञ्चालन गरेका छन् । तीनवटा ट्याक्टर र एउटा गहुँ काट्ने मसिनसमेत खरिद गरेका छन् । पसल, मिलका साथै ट्याक्टर र हार्वेस्ट मसिन चलाएर आम्दानी गर्ने गरेको घरमूली डिल्लीराजले बताउनुभयो । ‘आम्दानी गर्ने बाटो भएपछि अचेल वर्षभरिलाई खान लाउन पुगेको छ’, उहाँले भन्नुभयो, ‘वर्षभरि करिब ५० लाख रुपियाँको कारोबार भइरहेको छ । ’ गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस