aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

बैंक खाता खोल्नेको संख्या कुल जनसंख्याभन्दा अधिक

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, २५ असार २०७८
बैंक खाता खोल्नेको संख्या कुल जनसंख्याभन्दा अधिक

काठमाडौं । कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत/निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा बैंकको पहुँच पुगेको छैन । 

एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्ने प्रवृत्तिले कुल जनसंख्याभन्दा खातासंख्या अधिक देखिएको हो । २–३ ओटा बैंकमा खाता खोल्ने तर सबै खातालाई नियमित सञ्चालन नगरेकाले धेरै खाता निष्क्रिय रहेका छन् ।

पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९९ लाख ७४ हजाार ३ सय ६० रहेको छ । बैंकहरूको कुल रजिस्टर्ड खाता भने ३ करोड १९ लाख १० हजार हाराहारीमा पुगेको छ । तर, साढे ७७ प्रतिशत खाता मात्र सक्रिय छन् । बाँकी साढे २२ प्रतिशत खाता निष्क्रिय रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात् रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा ७१ लाख ८१ हजार रहेको छ । २ करोड ४७ लाख २९ हजार खाता सक्रिय रूपमा नियमित सञ्चालनमा छन् ।

लिंगगत आधारमा हेर्दा पुरुषहरूको खाता नियमित सञ्चालनमा बढी देखिएको छ । महिलाहरूको कम छ । हालसम्म कुल सक्रिय खातामध्ये ४५ दशमलव ५४ प्रतिशत अर्थात् १ करोड ४५ लाख ३२ हजार पुरुषको खाता नियमित सञ्चालनमा रहेको छ । कुल सक्रिय खातामध्ये दशमलव ३१ दशमलव ९५ प्रतिशत अर्थात् १ करोड १ लाख ९७ हजार महिलाको खाता नियमित सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस