काठमाडौं । शेयरको दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा गत मंगलबारसम्म सेयर किनबेच गरेका महिला लगानीकर्ताको संख्या हो यो । अघिल्लो वर्षको तुलनामा यस वर्ष सेयरको दोस्रो बजारमा २ लाख ३५ हजार महिला लगानीकर्ता थपिएका छन् ।
अघिल्लो आर्थिक वर्षको असारमा दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ६५ हजार ८ सय ४१ थियो । अहिले यो दोस्रो बजारमा कुल लगानीकर्तामध्ये महिला करिब ३८ प्रतिशत छन् ।
प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्नेको संख्या पनि जोड्दा सेयर बजारमा महिला लगानीकर्ताको संख्या अझै बढ्छ । आईपीओमा लगानी गरेपछि त्यो सेयर बिक्री गर्न दोस्रो बजारमा जानुपर्छ । यसकारण दोस्रो बजारमा सूचीकृत लगानीकर्तालाई सक्रिय लगानीकर्ता भनिन्छ । पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा बिहीबारसम्म ३७ लाख ५ हजार डिम्याट ९सेयर अभौतिकीकरण खाता० खाता खुलेका छन् । तीमध्ये करिब ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिलाको रहेको सीडीएस एन्ड क्लियरिङको तथ्यांक छ ।
साँझ–बिहान घरको कामकाजमा व्यस्त गृहिणी दिउँसो सेयर कारोबारमा सक्रिय हुन थालेपछि महिला लगानीकर्ताको संख्या बढेको बताइएको छ । घरको कामकाज पनि भ्याइने र दिउँसो खाली समय उपयोग हुने भएकाले महिलाका लागि सेयर बजार आयआर्जनको उपयुक्त विकल्प बनेको जानकारहरू बताउँछन् ।
सेयर बजारमा हरेक दिन ४ घण्टा कारोबार हुन्छ । बिहान ११ बजे बजार खुल्छ, ३ बजे बन्द हुन्छ । ‘गत वर्षसम्म बिहान घरधन्दा सकेर ११ बजे बजार जान्थें, साढे ३ बजे बच्चा लिन स्कुल पुगिसकेकी हुन्थें । अहिले अनलाइनबाटै सेयर किनबेच गर्न सकिने भएकाले सजिलो छ,’ सेयर लगानीकर्ता दीपा केसीले भनिन् । ‘दिउँसो खाली समय राम्रोसँग उपयोग भएको छ,’ उनले भनिन् । सुरुमा छिमेकी दिदीको सल्लाहमा सेयर बजारमा लगानी गरेकी दीपाले महिनामा औसत ३० हजार रुपैयाँ कमाउने गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस