aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

हिमालय रि इन्स्योरेन्सले पायो सञ्चालन स्वीकृति

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, २८ असार २०७८
हिमालय रि इन्स्योरेन्सले पायो सञ्चालन स्वीकृति

काठमाडौं । निजीक्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनका लागि बीमा समितिबाट अन्तिम स्वीकृति पाएको छ । बीमा समितिले गत बिहीवार कम्पनीलाई व्यवसाय अर्थात् कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो । 

समितिले गत जेठ १७ गते हिमालयन रिलाई स्थापनाका लागि आशयपत्र अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि कम्पनीले तोकिएको आवश्यक प्रक्रिया पूरा गरेपछि कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिइएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन रिलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको बताए ।

समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भयो भने संस्थापकतर्फको रू। ७ अर्बको लगानी पनि बैंकमा जम्मा गर्ने काम भयो । यसबाहेक बालुवाटारमा कम्पनीको कार्यालय स्थापना गर्ने, कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गर्नेलगायत आवश्यक प्रक्रिया पूरा भएपछि समितिले कम्पनीलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो ।

बीमा समितिबाट अन्तिम स्वीकृति पाएसँगै कम्पनी पक्ष कारोबार सञ्चालनका लागि तयारीमा जुटेको छ । चालू आर्थिक वर्षभित्र अर्थात् असार मसान्तभित्र नै कारोबार सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताए । ‘पुनर्बीमा व्यवसाय शुरू गर्न आवश्यक तयारी पूरा भइसकेको छ । असार महीनाभित्र नै कम्पनी सञ्चालनमा ल्याउनेछौं,’ अध्यक्ष गोल्छाले भने ।

प्रतिक्रिया दिनुहोस