aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

काठमाडौं महानगरको विकास सुस्त, तलब–भत्ता कुस्त

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, २८ असार २०७८
काठमाडौं महानगरको विकास सुस्त, तलब–भत्ता कुस्त

काठमाडौं । उनी परैबाट मास्कमाथि सलले मुख छोपेर सार्वजनिक शौचालय छिरिन् । शौचालयभित्र पानी भए पनि नियमित सफाइ नगरिँदा दुर्गन्ध फैलिएको थियो । शौचालयबाहिर हातधुने धारामा पानी थिएन । झोलाको सेनिटाइजर झिकेर हातमा लगाइन् । ‘चर्पी कस्तो फोहोर राखेको’ भन्दै शौचालय प्रयोगबापतको शुल्क तिरेर बाहिर निस्किइन् । उनको गुनासोलाई त्यहाँ पैसा उठाउन बसेका व्यक्तिले नसुनेझैं गरे । इमाडोल बस्ने मेनुका प्रधानले किताब किन्न भोटाहिटी पुग्दा भोगेको यो हैरानी प्रायः सबैले भोग्छन् । 

गुठी संस्थानले २०७६ मा गरेको सर्भेअनुसार काठमाडौं महानगरमा ३७ स्थानमा मात्रै सार्वजनिक शौचालय छन् । ती शौचालयमा पनि दिसापिसाब गर्न सक्ने अवस्था छैन । भोटाहिटीको शौचालयलाई ससाना पसलले घेरिएको छ । त्यस क्षेत्रमा पहिलो पटक गएका व्यक्तिले कसैले पनि शौचालय भेट्टाउन सक्दैनन् । शौचालय बाहिरैदेखि दुर्गन्धित छ । न त त्यहाँ हात धुने पानी छ । न त शौचालय उज्यालो नै छ । पैसा उठाउन बसेका व्यक्तिलाई पनि पैसासँग मात्र सरोकार भएको देखिन्छ । शौचालय दुर्गन्धित र फोहोर भयो भनेर प्रश्न गरेको खण्डमा उल्टै राम्रा शौचालय जान सुझाउँछन् ।

महानगरले २०७६ माघमा उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा तीन सदस्यीय शौचालय अध्ययन कार्यदल बनाएको थियो । उक्त कार्यदलले नै प्रयोग भइरहेका सार्वजनिक शौचालय प्रयोग योग्य नभएको प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रतिवेदनले शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप्नुपर्ने र महानगर क्षेत्रभित्र भएका शौचालयसहित एक सय ५१ स्थानमा आवश्यक भएको औंल्याएको थियो । त्यसपछि महानगरले न भएका शौचालयको गुणस्तर वृद्धि गर्‍यो, न त नयाँ ठाउँमा नै पर्याप्त बनायो ।

मेयर विद्यासुन्दर शाक्यले निर्वाचनताका मतदाताको घरदैलोमा पुगेरै ‘मलाई चुनावमा जिताउनुस्, सय दिनमा १०१ काम गरेर देखाउँछु,’ भनेका थिए । निर्वाचित भएर आए पनि महानगरलाई ‘द क्लिन सिटी’, ‘स्मार्ट सिटी’का रूपमा स्थापित गर्ने प्रतिबद्धता कार्यान्वयनको अवस्थालाई यही भोटाहिटी शौचालयले स्पष्ट पार्छ । भोटाहिटीमा किनमेललगायत काममा पुग्नेको बाक्लो चहलपहल हुन्छ । जो सार्वजनिक शौचालयको असहजता र असुविधा भोग्न बाध्य छन् । ललितपुर महानगरले २०७६ मंसिरमा पहिलोपल्ट कुपन्डोल–पुल्चोक–जावलाखेल–लगनखेल–मंगलबजार–पुल्चोकसम्म साइकल लेन विस्तार गर्‍यो । महानगरका अनुसार हालसम्म झन्डै ११ किमि सडकमा साइकल लेन विस्तार भइसकेको छ ।

यता छिमेकी काठमाडौं महानगरले भने जनप्रतिनिधि आएकै सालदेखि थालेको साइकल लेन बनाउने योजना हालसम्म सुरुवात भएको छैन । जसलाई महानगरले आफ्नो महत्त्वाकांक्षी योजनाका रूपमा लिँदै आएको छ । काठमाडौं महानगरको विकासे सुस्तता यति मात्रै होइन । जनप्रतिनिधि आएकै सालदेखि बजेट छुट्याउन थालेका महानगरको प्रशासनिक भवन बनाउने, तीनकुनेमा बुद्धपार्क बनाउने, महानगर अस्पताल बनाउनेलगायत योजना कार्यकाल सकिने अन्तिम सालसम्म आइपुग्दा सुरु भएका छैनन् । जबकि महानगरमा जनप्रतिनिधि आएको पहिलो वर्षको नीति तथा कार्यक्रममा ‘महानगरको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायकको केन्द्रीय कार्यालय भवन बनाउँदै तीन वर्षभित्र सबै कार्यालय आफ्नै कार्यालय भवनबाट सञ्चालन हुने प्रबन्ध मिलाउने’ भनिएको थियो । तर अहिले पनि महानगर कार्यालय भाडाकै भवनमा छ ।

प्रतिक्रिया दिनुहोस