
काठमाडौं । चीन र अमेरिकाबाट एकै पटक ठूलो मात्रामा खोप आउँदै छ, तर सरकारले न खोप लगाउने तालिका बनाएको छ न भण्डारणको व्यवस्था गरेको छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख डोज खोप ल्याउँदा नै काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा ठाउँ अभाव भएको छ । जब कि लगत्तै अमेरिकाबाट १५ लाख र चीनबाट थप ३२ लाख डोज खोप आउँदै छ ।
स्वास्थ्य सेवा विभागले २०७६ कात्तिकमै टेकुस्थित परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन प्रक्रिया सुरु गरेको थियो । तर त्यसअनुसार काम अघि नबढेकाले अहिले खोप राख्न ठाउँ अभाव भएको हो । विभागले २०७६ माघमा खोप भण्डारण भवन बनाउन कौशिल बस्नेतरकुँवर जेभी निर्माण कम्पनी छनोट गरेको थियो । उसले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो । दुई वर्षभित्र प्रयोग गर्न सकिने गरी ठेक्का सम्झौता भएको थियो । तर एक वर्ष हुँदा जगसमेत खनिएको छैन ।
भण्डारस्थल बनाउने भनिएको जग्गा अहिले पार्किङस्थल बनेको छ । भवन बनाउने स्थानको भित्तामा पर्खाल लगाइएको छ । ठेकेदार कम्पनीले केही मुठा रड पनि झारेको छ । विभागको आपूर्ति महाशाखामा स्वास्थ्य सामग्री माग्न र लिन आउनेहरूले यही ठाउँलाई पार्किङ बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस