aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २९ असार २०७८
वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

काठमाडौं । सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।

खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई पनि खोप दिइने जनाइएको छ । खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

कतारबाट घर बिदामा आउनुभएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताए । श्रमिक अधिकारीले भने, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”

“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भने, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र ? सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुपर्यो । ”

यस्तै संयुक्त अरब इमिरेट्सबाट घर बिदामा आएका कास्कीका कैलाश सिग्देल उडान खुलेलगत्तै जान पाइन्छ कि भनेर काठमाडौँमा आएर बसिरहेका छन् । यूएईले खोप नलगाउनेलाई प्रवेशमा रोक लगाएको छ । उनी भन्छन्, “कति ठाउँमा बुझियो तर विदेश जानेका लागि खोप छैन भन्छन् । उताबाट कम्पनीले खोप नलगाई आउन पाइँदैन भनेको छ । ”

नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य मुुलुकले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि नेपालका श्रम गन्तव्य मलेसिया, यूएई, कुवेतले नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेका छन् ।

कम्पनीको बिदामा आएका पनि पहिले उडान बन्द भएर अहिले खोप नपाएर रोकिएका छन् । कुवेतले खोप लगाएका श्रमिक बिस्तारै लिने भनेको छ भने साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बने सर्तमा श्रमिक लिइरहेका छन् । यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ तर अहिले त यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ ।

ओमान र बहराइनले पनि अहिले नयाँ भिसा जारी गरेका छैनन् । ओमानको आवासीय भिसा भएका श्रमिक सात दिन क्वारेन्टाइनमा बस्ने गरी जान पाउँछन् । पछिल्लो समयमा चीन र अमेरिकाबाट खोप आएको छ । अन्य देशबाट पनि आउने भनिएको छ । सरकारले जुलाईभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएको छ तर वैदेशिक रोजगारीमा जानेलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन ।

चीनबाट आएको र भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकारले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ भने अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकता दिने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अमेरिकाबाट आएको खोप एक डोज मात्रै लगाए हुने भएकाले यो खोप पहिलो प्राथमिकता विदेश जानेलाई प्राथमिकतामा पारौँ भन्नेमा मन्त्रालयको जोड रहेको बताए । 

प्रतिक्रिया दिनुहोस