aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

विदेश जाने कामदारलाई पनि खोपका प्राथमिकतामा राख्नु पर्ने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, ३० असार २०७८
विदेश जाने कामदारलाई पनि खोपका प्राथमिकतामा राख्नु पर्ने

काठमाडौं । कतिपय श्रम गन्तव्यले अमेरिका तथा युरोपमा उत्पादन भएका खोपलाई प्राथमिकता दिने भएपछि नेपालबाट जाने श्रमिकलाई सोही अनुसारको खोप उपलब्ध गराउन व्यवसायीले सरकारसँग अनुरोध गरेका छन् ।

साउदी अरब, कतार, युएई लगायतका प्रमुख श्रम गन्तव्यले कोरोनाको खोप नलगाएका नेपाली श्रमिकले क्वारेन्टिन बस्नु पर्ने नियम लागू गर्न थालेका श्रमिकका लागि खोप अनिवार्य भएको छ । युएई र कुवेतले एक महिनाअघि नै खोप नलगाएका विदेशीलाई प्रवेशमा रोक नै लगाएका छन् । कतार र साउदी अरबले भने खोपलाई अनिवार्य नगरेपनि कडा स्वास्थ्य मापदण्ड लागू गरेका छन् ।

सरकारले समयमा खोपको व्यवस्था गर्न नसक्दा रोजगारीका लागि विदेश जाने हजारौँ श्रमिकले एक लाख रुपैयाँ भन्दा बढी तिरेर ७ देखि १० सम्म होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता रहेको छ । साउदी अरब बाहेक अन्य देश जाने श्रमिकले भने तोकिएको समयसम्म होटल क्यारेन्टिन र पिसिआर शुल्क तिर्नु पर्ने हुन्छ । केही दिनअघि निवर्तमान स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको भएपनि हाल विदेश जानेका लागि भेरोसेल सिफारिस गरिएको छ । 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले हाल विदेश जान ९८ हजार श्रमिकले श्रम स्वीकृती दिएको जनाउँदै उनीहरुका लागि कम्तिमा ३ लाख मात्रा छुट्याउनु पर्ने बताए ।

कोरोना विरुद्धको निश्चित कम्पनीको खोप लगाएका नेपाली श्रमिकले कतार, साउदी अरबमा क्वारेन्टिनमा बस्नु नपर्ने नियम बनाइएको छ । कतारले विभिन्न मुलुकहरुलाई हरियो, पहेंलो तथा रातो गरी तीन श्रेणीमा राखेको स्वास्थ्य मापदण्ड बनाएको छ । खोप लगाएपनि रातो सूचिमा रहेका मुलुकबाट आउने यात्रुहरुले कतार आइसकेपछि पुनः पिसिआर परीक्षण गराउनु पर्ने उल्लेख रहेको दूतावासका द्धितिय सचिव प्रबिन भट्टराईले जनाएका छन् ।

कतार सरकारले बनाएको नयाँ नियम असार २८ बाट लागू हुने जनाइएको छ । अब कतार प्रवेश गर्ने नेपालीले एहतराज नामक अनलाइन प्रणालीमा दर्ता गरेर सम्पूर्ण कागजात १२ घण्टा अगावै सो प्रणालीको वेबसाइटमा अपलोड यात्रा अनुमतिपत्र लिएर मात्र जाने सक्ने छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले व्यवसायीको माग अनुसार विदामा आएका र नयाँ श्रमिकलाई मापदण्ड बनाएर खोप उपलब्ध गराउने निर्णय भएको बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि वैदेशिक रोजगारीमा जाने नेपालीलाई समेत खोप उपलब्ध गराउने जनाएपनि विदेश जाने श्रमिकका लागि एक मात्राको जोन्सन एन्ड जोन्सन दिने सुचिमा राखेको छैन । पूर्वअध्यक्ष गुरुङले विदेश जाने श्रमिकका लागि २ मात्रा दिनु पर्ने खोप भन्दा एक मात्रा दिने खोप नै उपयुक्त हुने बताए ।

कतारले हालसम्म फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ । यसैगरी चिनियाँ कम्पनी सिनोभ्याकद्धारा उत्पादित भेरोसेल खोपलाई निश्चित शर्त सहित मान्यता दिएको छ । भेरोसेल खोप लगाएका श्रमिकले भने कतार पुगिसकेपछि एण्टीबडी परीक्षण गरिने छ । यसैगरी २ डोज खोप लगाएको १४ दिन भन्दा कम भए र एक मात्रा मात्र लगाएको भएमा (जोन्सन एण्ड जोन्सन बाहेक) क्वारेन्टिनमा बस्नु पर्ने जनाइएको छ ।

कतार जानेहरुका लागि कतार सरकारले जुलाई १२ ९सोमवार० देखि क्वारेन्टिन सम्बन्धमा नयाँ नियम जारी गरेको छ । नयाँ नियमअनुसार हरेक यात्रुले नेपालबाट तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटीभ पिसिआर रिपोर्ट आवश्यक पर्ने छ । यसैगरी यात्रा गर्नुभन्दा ७२ घण्टादेखि कम्तीमा १२ घण्टा अगाडी अनिवार्य रुपमा एहतराज वेवसाइट मा अनलाइनबाट प्रि रजिष्ट्सन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल अनुमतिपत्र आवश्यक पर्ने छ ।

यसैगरी कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले क्वारेन्टिन बस्नु पर्नेछैन । यसैगरी कतारमा मान्यता दिइएका फाइजर, मोडेर्ना, अक्सफोर्ड अष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपको मात्रा अन्य कुनै देशमा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था भएको छ । कतारमा कोभिड १९ को संक्रमण भएर निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले समेत क्वारेन्टिन बस्नु नपर्ने कतार स्थित नेपाली दूतावासले जनाएको छ । खोपको मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुहरुले भने अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिन बस्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस