
पोखरा । प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् बैठक अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर विनियोजन विधेयक २०७८ (बजेट) पारित गरिएको छ । पटकपटक बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेपछि बजेट पारित गर्न मार्सल परिचालन गरिएको थियो । त्यस क्रममा सांसदले तोडफोडसमेत गरेका थिए ।
एमालेले अवरोध गरेपछि प्रदेशसभा बैठक बुधबार तीन पटकसम्म स्थगन गरिएको थियो । त्यहीबीचमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको संयोजकत्वमा सर्वदलीय बैठक भए पनि सहमति हुन सकेन । अपराह्न ४ बजेतिर बसेको चौथोपटकको बैठकमा अवरोध हुँदाहुँदै सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक पारितका लागि प्रस्ताव राख्न मुख्यमन्त्री नेपालीलाई समय दिएका थिए । प्रतिपक्षका आक्रोशित सांसदहरूलाई मार्सल लगाएर रोकिएको थियो ।
त्यस क्रममा एमालेका सांसदले तोडफोडसमेत गरे । त्यसपछि उनीहरू सदनबाट बाहिरिएका थिए । विनियोजन विधेयक निर्णयार्थ पेस हुँदा एमालेका सांसद सदनमा थिएनन् । मुख्यमन्त्रीले निर्णयार्थ पेस गरेको बजेट कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा बहुमतले पास भएको छ । यसभन्दा अघि बजेट र योजनाका विषयमा एमालेले दुई दिन ९२७ र २८ गते० संसद् अवरोध गरेको थियो ।
बुधबार ११ बजे सुरु भएको प्रदेशसभा बैठकमा एमालेका सांसद रामशरण बस्नेतले सरकारलाई बुझाएको १० बुँदे ध्यानाकर्षण पत्रको सम्बोधन नभएसम्म सदन अगाडि बढाउन नदिने बताएका थिए । पूर्वभौतिकमन्त्रीसमेत रहेका उनले बुधबार बिहान मुख्यमन्त्री नेपालीलाई भेटेरै १० वटा विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरे । ‘हामीलाई यसको जवाफ चाहिन्छ तर अहिलेसम्म छलफल भएन,’ उनले भनेका थिए ।
बजेट पारित गर्ने समय नभएको बताउँदै सभामुखले कुर्सीमा बस्न आग्रह गर्दा पनि एमाले सांसद उभिरहेका थिए । त्यसपछि सभामुखले सुरुमा बैठक आधा घण्टालाई स्थगन गरेका थिए । १२ः१० मा सुरु हुने भनिएको बैठक २ बजेतिर मात्रै बसे पनि एमालेको अवरोधले चल्न सकेन । केहीबेरको स्थगनपछि बैठक सुरु गर्न खोज्दा पनि एमालेले अवरोध जारी राखेको थियो । मार्सल लगाएर बजेट पारित गरिएपछि एमालेले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएको थियो । सरकारका प्रवक्ता कुमार खड्काले एमालेले पटकपटक संसद् अवरुद्ध गरेपछि मार्सल लगाउन बाध्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस