
काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनका अनुसार सरकारको चालु खाता २९३ अर्ब ९७ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६२ अर्ब ५९ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई १६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ ।
त्यसैगरी, २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा १३६५ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई ११९७ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा २०७८ जेठ मसान्तमा ४.४ प्रतिशतले कमी आई १६८ अर्ब रुपैयाँ कायम भएको छ । २०७८ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.६ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस