काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष ९आव० २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५ खर्ब १० अर्ब पुगेको छ । जीडीपीभन्दा बैंकहरूको निक्षेप ५ दशमलव ७२ प्रतिशतले बढी भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालू आवको जेठसम्मको निक्षेपलाई आव २०७६/७७ को जीडीपीसँग तुलना गर्दा जीडीपीभन्दा निक्षेप १४ दशमलव ३४ प्रतिशत बढी रहेको देखाउँछ । गत आवको जीडीपीको आकार चालू आवभन्दा कम अर्थात् रू ३९ खर्ब ४३ अर्ब हाराहारीमा रहेको थियो ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप रू ३९ खर्ब ९३ अर्ब ८९ करोड रहेको छ । यस्तै, १८ ओटा विकास बैंकको कुल निक्षेप ४ खर्ब १५ अर्ब ७६ करोड रहेको छ भने २० ओटा वित्त कम्पनीहरूको निक्षेप रू। १ खर्ब ७२ करोड रहेको छ । जीडीपीभन्दा निक्षेपको आकार बढिरहँदा बैंकिङ कारोबारको मात्रा राम्रै गतिमा बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको कारोबार बढे पनि जीडीपीको आकार भने बढ्न सकेको छैन । यसले आर्थिक वृद्धि बढ्न नसकेको पनि देखाउँछ ।
बैंकमा निक्षेप बढ्ने क्रम देखिएकाले भने सर्वसाधारणले घरमा पैसा राख्नभन्दा पनि बैंकमा राख्ने बानी बढेको आकलन गर्न सकिने बैंकरहरू बताउँछन् । पूर्वबैंकर तथा राष्ट्र बैंकका पूर्वकर्मचारी टेकनाथ पोखरेल बैंकहरूको निक्षेपको वृद्धिलाई हेर्दा जीडीपीको वृद्धि भने कम भएको आकलन गर्छन् ।
प्रतिक्रिया दिनुहोस