
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोग गर्नेमा नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) र चेम्बर अफ कमर्स पनि देखिएका छन् । २०६५ देखि २०६८ मा एफएनसीसीआईले विभिन्न तालिम गराउने बहानामा १० करोड ८९ लाख ९८ हजार रुपैयाँ पेश्की स्वरुप लगेको रकमको हिसाब किताब हालसम्म मिलान गरेको छैन ।
महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा एफएनसीसीआईको नाममा बेरुजु देखिएपछि एफएनसीसीआईको पदाधिकारीले कोषमा पेस गरेका बिल भौचरहरु समेत नक्कली पाइएको र पुनः बिल भौचर पेस गर्न भनेको कोषले बताएको छ । एफएनसीसीआईले विभिन्न जिल्लामा समन्वय गरेर ३ लाख ३४ हजार १५० जनालाई तालिम दिएको सूची कोषमा बुझाएको छ ।
एफएनसीसीआईले तालिम दिएका व्याक्तिको नाम समेत फर्जी राखेर ल्याएकाले बारम्बार नाम ल्याउन अनुरोध गरेको कोष स्रोतले बताएको छ । यता एफएनसीसीआईका काबा महाप्रबन्धक गोपाल तिवारीले भने कोषको तालिमको रकम र सबै प्रक्रिया सकिसकेको बताएका छन् ।
कोषको रकमबाट तालिम लिनका लागि चेम्बर अफ कमर्सले पनि ३८ लाख रुपैयाँ बराबरको रकम लगेको देखिन्छ । यसबाट करिब १२ हजार जनालाई अभिमुखीकरण तालिम दिएको कोषमा पेस गरेको कागजातमा देखिएको छ । यसबाट कसलाई तालिम दिइयो र तालिम दिएका व्यक्तिलाई कस्तो तालिम दिइयो भन्ने विषय नै अन्योलमा छ । एफएनसीसीआई र चेम्बरले तालिम दिएको ३ लाख ४६ हजार ८५६ जना जनशक्ति कहाँ छन् ?
कोषको रकम हिनामिना भएको विषयमा राष्ट्रिय सर्तकता केन्द्रले २०७४ चैतमा नै अध्ययन गरी २०७५ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई समेत प्रतिवेदन बुझाएको केन्द्रले जनाएको छ । तर, यी निकायले हालसम्म कारबाही त परै जाओस् सतर्ककता केन्द्रले अध्ययन गरेको प्रतिवेदन पढेमा पनि छैनन् होला ।
प्रतिक्रिया दिनुहोस