
काठमाडौं । केही महीनादेखि क्रमशः संकुचन हुँदै गएकोे शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण आय लगातार बढे पनि चालू खाता घाटा बढ्दै गएर शोधनान्तर घाटा भएको हो । यसले बाह्य क्षेत्रमा दबाब परेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । केही महीनायता विप्रेषण आप्रवाह वृद्धि हुँदै आए पनि चालू आवको ११ महीनाको अन्त्यमा शोधनान्तर स्थिति रू १५ अर्ब १५ करोडले घाटामा रहेको छ । गतवर्षको सोही अवधिमा रू १ खर्ब ७९ अर्ब ३७ करोडको शोधनान्तर बचत थियो । यसै अवधिमा चालू खाता घाटा पनि अत्यधिक बढेर रू २ खर्ब ९३ अर्ब ९७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा चालू खाता रू। ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा हिसाब गर्दा गतवर्षको जेठसम्ममा १ अर्ब ५० करोडको शोधनान्तर बचत थियो, यस वर्ष भने यो १४ करोड ८ लाखले घाटामा छ ।
करीब २ वर्षअघि अर्थात् आव २०७५र७६ को जेठमा शोधनान्तर स्थिति रू ९० अर्ब ८३ करोडले घाटामा पुगेको थियो भने आव २०७५र७६ को असार मसान्तमा यो रू ६७ अर्ब ४० करोड घाटामा थियो । तर, आव २०७६र७७ को पहिलो महीनादेखि यसमा बचत हुन थालेर रू ६ अर्ब ५ करोेडको बचत भएको थियो । बचतको यो प्रवृत्ति त्यसपछिका करीब २३ महीना निरन्तर हुँदै गत वैशाखमा रू ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस