aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

दक्षिण कोरियाका सर्त पूरा, कामदार जाने बाटो खुल्यो

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, ०१ साउन २०७८
दक्षिण कोरियाका सर्त पूरा, कामदार जाने बाटो खुल्यो

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार भर्ना गरेको छैन । 

कोरियाले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको श्रम मन्त्रालयको भनाइ छ । ‘रोजगारीको अवसरलाई ध्यान दिई कोरियाको सर्तलाई मन्त्रालयले स्विकारेको छ,’ श्रम सचिव सूर्यप्रसाद गौतमले भने, ‘१६ महिनादेखि रोकिएको कामदार लैजाने प्रक्रिया अब छिट्टै सुरु हुन्छ ।’ 

श्रम मन्त्रालयले कोरिया जान नपाएपछि संगठित कामदारका प्रतिनिधिसँग छलफल गरेपछि कोरियाका सर्त स्विकारिएको हो । नेपालले आफ्ना सर्त स्विकारेपछि कोरियाले पहिलो चरणमा प्रतिबद्ध कामदारलाई लैजाने तयारी गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । प्रतिबद्ध कामदार ३ हजार छन् । चार वर्ष कोरिया बसेर फर्केका कामदारलाई सोही रोजगारदाताले चाहेमा प्रतिबद्ध कामदारका रूपमा लैजान पाउँछन् ।

प्रतिक्रिया दिनुहोस