aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मौद्रिक नीति आउन ढिला हुने संकेत

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०२ साउन २०७८
मौद्रिक नीति आउन ढिला हुने संकेत

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामीले छिट्टै मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेटिएको श्वेतपत्र ल्याउछौं ।’

अर्थमन्त्री शर्माका अनुसार मन्त्रालयले हालसम्मको अर्थतन्त्रको समग्र अवस्था र आगामी कार्य योजनासहितको भिजन समेटेर श्वेतपत्र ल्याइनेछ । उनले हालसम्म आर्थिक अवस्थाको सूचकांकले देखाएको स्थितिलाई श्वेतपत्रमा समेटिने जानकारी दिए ।

मन्त्री शर्माले मातहतका मन्त्रालयका सचिव र सम्बन्धित विभागका कर्मचारीलाई श्वेतपत्रको तयारी गर्न आग्रह गरिसकेको जानकारी गराउँदै आगामी श्वेपतत्रलाई आधार बनाएर सरकारको रणनीति तय हुने बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत १५ जेठमा ल्याएको नयाँ बजेट अध्यादेश आगामी आइतबार प्रतिनिधिसभामा टेबुल हुने जानकारी दिए । बजेट अध्यादेश अब संसद्को बिजनेस भएको बताउँदै अर्थमन्त्री शर्माले सो अध्यादेशबारे संसद्ले नै आवश्यक निर्णय गर्ने बताए । सर्वोच्च अदालतबाट पुनस्र्थापित संसद् बैठक आगामी ३ साउनमा बोलाइएको छ । सोहीअनुरूप आगामी आइतबार अपराह्न ४ बजेदेखि दुवै संसद्को बैठक बस्ने छ ।

यसैगरी, अर्थमन्त्री शर्माले हाल आफूले अर्थ मन्त्रालय र मातहतका निकायको जानकारी लिइरहेको र सम्बन्धित विभागसँगको समन्वयमा आवश्यक जानकारी लिइरहेकाले मौद्रिक नीति ढिलो आउने संकेत गरे ।

अघिल्लो सरकारले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने बताएको भए पनि उनले यो सरकारले आगामी मौद्रिक नीति ल्याउन हतार नगर्ने र केही समय ढिलो गरेर मात्रै मौद्रिक नीति ल्याइने बताए । शुक्रबारदेखि सुरु भएको नयाँ आवका लागि मौद्रिक नीतिको तयारी राष्ट्र बैंकले गर्ने भनिए पनि सरकारको निर्देशनमा मात्रै मौद्रिक नीति आउने गर्छ । अर्थ मन्त्रालयको आवश्यक समन्वय र निर्देशनमा मौद्रिक नीति आउने जानकारी गराउँदै उनले मौद्रिक नीति राष्ट्र बैंकले ल्याउने भए पनि विभागीय मन्त्रीसँगको समन्वयमा मात्रै आउने जनाए ।

त्यसैगरी, अर्थमन्त्री शर्माले पुँजीबजार जनताको हितमा भएको बताए । उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महŒवपूर्ण क्षेत्र बनेको बताए । अर्थ मन्त्रालयका अनुसार पुँजीबजारबाट गत आवमा मात्र १४ अर्ब राजस्व संकलन भएको छ ।

मन्त्री शर्माले विश्वासको मत नपाएसम्म पूरक बजेट नआउने बताए । उनले हालको जटिल अवस्थाबीच सर्वोच्च अदालतले पदस्थापन गरिदिएको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले तत्काल पूरक बजेट नल्याउने जनाए ।

बजेट अध्यादेशको टुंगो संसद्ले नै लगाउने
अर्थमन्त्री शर्माले चालू आवको नयाँ बजेट पनि आगामी आइतबार बस्ने पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गर्ने र सोही बैठकले बजेटको गति के हुने भन्ने दिशानिर्देश गर्ने बताए । अदालतको आदेशबमोजिम आगामी आइतबार पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।

सोही बैठकमा ओली नेतृत्वको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट अध्यादेश पेस हुने भएको हो । अर्थमन्त्री शर्माले भने, ‘संसद् बसेको पहिलो दिनमै बजेट अध्यायदेश संसद्मा पेस हुन्छ । संसद्ले नै बजेटबारे आवश्यक निर्णय गर्नेछ ।

टुंगो नलागे के हुन्छ ?
नेपालको संविधानको धारा ११४ अनुसार संविधान दिवस अर्थात् आगामी ३ असोजभित्र बजेटसम्बन्धी अध्यादेश संसद्का दुवै सदनले पारित गर्नुपर्छ । बजेट मात्र होइन, यसबीचमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेका सबै अध्यादेश पनि आगामी ३ असोजभित्र संसद्का दुवै सदनले पारित गर्नुपर्नेहुन्छ ।

संविधानले अध्यादेश निष्क्रिय वा खारेज हुने तीन अवस्थाको परिकल्पना गरेको छ । संसद्का दुवै सदनले अस्वीकार गरेमा, राष्ट्रपतिबाट खारेजी भएमा वा दुवै सदनको बैठक बसेको ६० दिनसम्म पारित नभएमा स्वतः निष्क्रिय हुनेछ । सर्वोच्च अदालतले आगामी आइतबार प्रतिनिधि सभाको बैठक बोलाउन आदेश गरेको छ । राष्ट्रिय सभाको बैठक भने यसअघि नै बसिसकेको छ ।

सोही कारण प्रतिनिधि सभाको बैठक बसेको ६० दिनभित्र बजेटसहितका अध्यादेश पारित गरिसक्नुपर्ने बाध्यता छ । त्यसो हुन नसके यी अध्यादेश स्वतः निष्क्रिय हुनेछन् । त्यसपछि सरकारलाई पुनः नयाँ बजेट ल्याउने ढोका खुल्छ । यदि वर्तमान सरकारले अध्यादेशकै बजेटलाई सदनबाट पारित गर्न चाहेमा भने बजेटसम्बन्धी अध्यादेश सहजै पारित हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस