aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) नै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिन अर्थात् आज बस्न लागेको प्रतिनिधि सभा संसदको पहिलो बैठकबाटै विश्वासको मत लिन लागेका हुन् ।  

सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको देउवा निकट स्रोतले जनाएको छ। 

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपनि सर्वोच्चले संसद् पुनस्र्थापना गर्ने आदेशसहित देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने आदेश दिएपछि असार २९ गते कांग्रेस संसदीयका दलका नेता एवं पार्टी अध्यक्ष देउवा प्रधानमन्त्रीमा पाँचौंपटक नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस