
एजेन्सी । कोरोना भाइरसले विश्वलाई आतंकित पारिरहेका बेला अमेरिकामा भाइरसबाटै सर्ने अर्को रोग देखा परेको छ । जसको नाम हो, मंकिपोक्स । अमेरिकाको सङ्क्रमण रोग रोकथाम विभागले नाइजेरियाबाट फर्केका एक नागरिकमा यो रोग देखा परेको जानकारी सार्वजनिक गरेको हो ।
दुई दशक अघि पनि अमेरिकामा देखिएको यो मंकिपोक्स भाइरसबाट सर्ने रोग हो । जसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । मानिसबाट मानिसमा र मुसाको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने यो रोग के हो भन्ने विषयमा धेरै मानिसहरूले चासो राख्न थालेका छन् । यसका लक्षण के कस्ता हुन्छन् र यसबाट बच्ने उपाय के हो भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
के हो मंकिपोक्स ?
मंकिपोक्स एउटा अत्यन्तै दुर्लभ भाइरससँग सम्बन्धित रोग हो । जुन बिफरसँग मिल्दोजुल्दो प्रकृतिको छ । अर्थोपोक्स भाइरस समूहमा पर्ने यो भाइरस काउपोक्स सँग पनि मिल्दोजुल्दो छ ।
सन् १९५८ मा बाँदरमा पहिलो पटक फेला परेको यो भाइरस पछि लोखर्के, मुसा, खरायोहरूमा पनि भेटिएको हो । मानिसमा भने सन् १९७० मा मध्य र पश्चिम अफ्रिकाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनजातिहरूमा देखा परेको थियो । र, अहिले अफ्रिका बाहिर युरोप र अमेरिकामा फैलिसकेको छ ।
यो कसरी सर्छ ?
मानिसहरूमा यो भाइरस लोखर्के, कुकुर लगायत घरपालुवा जनावरहरूबाट सर्ने बताइन्छ । यी जनावरहरूले मानिसलाई टोक्दा या तिनीहरूको र्याल, थुकसँग सम्पर्कमा आउँदा मानिसहरूमा सर्ने गर्छ । त्यसबाहेक सङ्क्रमित मानिसहरू श्वास फेर्दा वा बोल्दा निस्किने थुकका छिटाहरूबाट पनि यो रोग सर्छ ।
यस्ता छन् लक्षण
मानिसमा मंकिपोक्स भाइरस छिरेपछि यसको सङ्क्रमणबाट ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीमा दुखाई बढ्ने, अत्यधिक ढाड दुख्ने, जोर्नीहरू सुन्निने र असहजता महसुस हुने गर्छ । अत्यधिक थकाइ लाग्ने र आलस्यता बढ्ने पनि यसका लक्षणहरू हुन् ।
सङ्क्रमित व्यक्तिलाई ज्वरो आएको तीन दिन भित्रमा मानिसहरूको शरीर भरि पानी भरिएका फोकाहरू देखा पर्छन् । त्यस्ता फोकाहरू बढ्दै जाने र फुट्ने गर्छन् । यो क्रम दुईदेखि चार हप्तासम्म जारी रहन्छ । मानिसको शरीरमा भाइरस पसेको १२ दिनसम्म लक्षण देखिने समय रहेको मानिन्छ ।
यो रोगबाट सङ्क्रमितको मृत्यु हुने सङ्ख्या १ देखि १० प्रतिशतसम्म रहेको बताइन्छ । यो रोगबाट बच्चाहरूमा मृत्यु हुने सङ्ख्या बढी रहेको छ ।
हालसम्म यो रोगको लागि छुट्टै औषधिको विकास गरिएको छैन । त्यसैले सङ्क्रमित व्यक्तिले आफैमा रहेको रोग प्रतिरोधी क्षमताबाट लड्नु बाहेक अन्य देखिँदैन ।
बिफर विरुद्धको खोप लगाएका मानिसहरुमा यो रोग लाग्दैन भन्ने यसअघि विश्वास गरिएको भए पनि अहिले भेटिएका सङ्क्रमितले बिफरको खोप लगाएको हुनाले पुरानो अनुमान असत्य साबित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस